काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र पाहुना टोली जिम्बावे 'ए' बीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ।
टियु क्रिकेट मैदानमा परेको वर्षाको कारण नेपाल र जिम्बावे 'ए' बीचको खेल स्थगित गरिएको हो । खेल टस समेत नभई स्थगित गरीएको हो ।
स्थगित यस खेल पुन: हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । तर, खेल हुने नयाँ दिन तोकिएको छैन ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेल्न लागेको हो ।
नेपालले घरेलु मैदानमा जिम्बावे 'ए' सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो ।
एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ ।
एकदिवसीयपछि नेपालले टी-ट्वान्टी सिरिज खेल्नेछ । टी-ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।