काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जिम्बावे 'ए' विरुद्धको सिरिज सबै खेलाडीका लागि राम्रो अवसर भएको बताएका छन् ।
शुक्रबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै कप्तान सन्दीपले जिम्बावेविरुद्धको सिरिज नेपालका सबै खेलाडीका लागि अवसर रहेको बताएका हुन् ।
सन्दीपले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि समेत घरेलु सिरिज महत्वपूर्ण हुने बताए ।
'यस सिरिज अमेरिका जानु अघि हामीलाई राम्रो तयारी हुनेछ । जिम्बावे धेरै बलियो प्रतिद्वन्दी हो । त्यसैले खेल सहज हुनेछैन,' कप्तान सन्दीपले भने, 'जिम्बावेविरुद्धको खेल सबैको लागि अवसर हो । धेरै कुरा सिक्न सकिन्छ ।'
नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो ।
मुख्य प्रशिक्षक पुबुदु दशानायकेले अमेरिका भ्रमण अघिको यस सिरिजले टोलीलाई धेरै सहयोग पुग्ने बताए ।
'नेपालको लागि यो ठुलो अवसर हो । अमेरिका र ओमानसँगको खेलअघि यो राम्रो मौका हो । हामी राम्रो क्रिकेट खेल्न चाहन्छौं,' पुबुदुले भने ।
अमेरिकामा हुने सिरिज आगामी जुनमा हुनेछ । सिरिजमा नेपालले आयोजक अमेरिका र ओमानसँग खेल्नेछ ।
नेपालले घरेलु मैदानमा जिम्बावे 'ए' सँग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।
नेपालले एकदिवसीयका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।
नेपालले जिम्बावे 'ए' विरुद्ध भोलि शनिबार पहिलो खेल खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
यस्तै दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ ।
एकदिवसीयपछि नेपालले टी-ट्वान्टी सिरिज खेल्नेछ ।
टी-ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।