काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा आज मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सको सामना गर्दैछ । त्यस अगाडि सबैको मुखमा झुन्डिएको प्रश्न हो, आखिरमा विराट कोहलीलाई भइरहेको के छ ? प्रतियोगितामा पछिल्ला दुई खेलमा उनले लगातार ‘गोल्डेन डक’ खाए । त्यसो भनेको यी दुवै खेलमा पहिलो बल सामना गर्दै यी भारतीय क्रिकेटका पूर्व कप्तान आउट भए ।
आफ्नो पूरा खेल जीवनमै कोहली यसरी लगातार खेलमा पहिलो बलमै आउट भएको यो पहिलो पल्ट हो । फेरि उनी आफै पनि लयमा छैनन् । आठ खेलमा उनले बेंगलोरका लागि जम्मा जम्मी १ सय १९ रन बनाएका छन् । यो उनी जत्तिको ब्याट्रलाई सुहाउन पटक्कै होइन् । सनराइज हैदरावादविरुद्धको खेलपछि कोहली र वेस्ट इन्डिजका पूर्व खेलाडी ब्रायन लाराबीच लामै कुराकानी भयो ।
यो दृष्य खुबै भाइरल पनि भयो । सबैको अनुमान थियो, सायद कोहलीले लारालाई सोधेको हुनु पर्छ, यो खराब लयबाट मुक्त हुन कसरी ? बेगलोरको पूर्व कप्तान तथा प्रशिक्षक ड्यानिएल भिटोरी मान्छन्, कोहली अहिले पक्कै खराब लयबाट गुज्रिरहेका छन्, तर कुनै पनि बेला उनको ब्याटबाट पर्याप्त रन निस्कनेछ । उनी भन्छन्, ‘धेरैले कोहली अहिले मानसिक दबाबमा रहेको भन्छन्, मलाई लाग्छ, यो कुरामा उनी वास्तवमै बलियो छन् ।’
कोहलीलाई आधुनिक पुस्ताका ब्याट्रमध्ये सर्वाधिक उत्कृष्ट मानिन्छ र कुनै समय उनी नै भारतीय क्रिकेटका वास्तविक अनुहार थिए । तर यिनै कोहली लखनउ सुपर जायन्ट्सका दुश्मन्था चमिरा र हैदरावादका मार्को जेनसनको पहिलो बलमै आउट भए । सुनिल गावस्करले पनि कोहलीको समर्थनमा बोलेका छन् र भन्छन्, ‘कोही ब्याटर पहिलो बलमै आउट हुन्छ भने धेरै चर्चा हुन्छ, कोहलीको घटना पनि यत्ति मात्र हो ।’
तर तथ्यांकले अरू थोक नै भन्छ र यो हो, कोहली खासमै खराब लयमा छन् । पछिल्लो समय ट्वान्टी ट्वान्टी क्रिकेटमा मात्र होइन्, उनी टेस्ट र वान डे क्रिकेटमै पनि नराम्रोसँग असफल रहेका छन् । यी तीनै ढाँचामा उनले शतक नबनाएको धेरै भयो । त्यसबीच पनि इंग्ल्यान्डका पूर्व ब्याट्सम्यान केभिन पिटरर्सनले कोहलीकै समर्थनमा आफ्नो धारणा राखेका छन् ।
उनले भनेका छन्, ‘प्रत्येक महान ब्याट्सम्यान अहिले कोहलीकै जस्तो खराव लयबाट गुज्रिने गर्छन् । यो निकै स्वभाविक छ । फेरि अर्को तथ्य के पनि हो भने यस्ता महान ब्याट्सम्यान केही समयका खराव लयपछि उत्कृष्ट प्रदर्शन गर्न पनि सफल हुन्छन् । त्यसैले त्यस्तो दिन धेरै टाढा रहने छैन्, जति बेला कोहलीको ब्याटले सबैलाई उत्तर दिने छ ।’
कोहली भारतीय टिमको कप्तान छँदाका प्रशिक्षक रवि शास्त्री मान्छन्, सायद यी खेलाडीलाई धेरै थकान छ, मानसिक रूपमा पनि दबाबमा छन् । त्यसैले केही छोटो समयका विश्रामपछि उनी फेरि पुरानै लयमा फर्कन सक्छन् । कोहलीले भारतका लागि १ सय १ टेस्ट, २ सय ६० वान डे र ९७ ट्वान्टी ट्वान्टी खेल खेलिसके । यो सबै सन् २००८ यतै हो ।
विश्वास गरौं, कोहलीको उत्कृष्ट खेल फेरि हेर्न पाइने छ । अहिलेका लागि भने प्रश्न कायम नै छ, कोहलीलाई के भइरहेको छ ?
–एएफपीको सहयोगमा ।