काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षक जगत टमटालाई प्रदान गरेको छ ।
एनएसजेएफले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक प्रशिक्षक अवार्डबाट टमटालाई सम्मानित गरेको हो ।
नेपाली क्रिकेटका सर्वाधिक सफल घरेलु प्रशिक्षक टमटा पछिल्लो एक दशक देखि नेपाली क्रिकेटले पाएका हरेक सफलताका सारथी बन्दै आएका छन् ।
टमाटाको प्रशिक्षणमा सन् २०११ एसीसी यु–१९ कपमा नेपाल उपविजेता बन्दै यु–१९ एसिया कप र यु–१९ विश्वकपमा छनोटमा पुग्न सफल भएको थियो ।
सोहि वर्ष उनले आईसीसी विश्वकप छनोटमा दोश्रो स्थान दिलाउदै नेपाललाई यु–१९ विश्वकपमा पुर्याएका थिए ।
२०१२ मा नेपालले यु–१९ विश्वकप खेल्दा उनी सहायक प्रशिक्षकको भूमिकामा थिए ।
टमटाको प्रशिक्षणमा सन् २०१५ को यु–१९ विश्वकप छनोट प्रतियोगिता नेपाल विजेता बन्दै बंगलादेशमा आयोजित २०१६ यु–१९ विश्वकपमा छनोट भएको थियो ।
उक्त यु–१९ विश्वकपमा नेपाल पहिलो पटक क्वार्टरफाइनल यात्रा गर्न सफल भएको थियो ।
उनकै प्रशिक्षणमा नेपाल सन् २०१८ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को फाइनल पुग्न सफल हुँदै एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएको थियो ।
जिम्बाब्वेमा आयोजित २०१८ विश्वकप छनोटमा नेपाललाई आठौं स्थानमा पुर्याउदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भए ।