काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको छ ।
यूएईको सारजाहमा बुधबार भएको खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको हो ।
पीएनजीले दिएको २ सय ५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
खराब सुरुवात गरेको नेपालको लागि पाँचौं विकेटको लागि रोहित कुमार पौडेल र आरिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो ।
रोहितले ८५ बलमा ४ चौका प्रहार गर्दै ५८ रन बनाए । आरिफले ४९ रन बनाउँदै पेभिलियन फर्किए ।
यस्तै करण केसीले आक्रामक ब्याटिङ गर्दै अविजित रहदै २९ रन बनाए । अन्य खेलाडीले सम्झन लायक ब्याटिङ प्रदर्शन गरेनन् ।
आसिफ शेख १६, बिनोद भण्डारी ११, दिपेन्द्र सिंह ऐरी ८, ज्ञानेन्द्र मल्ल ४, सोमपाल कामी ८ र कुशल भुर्तेल १ रनमा आउट भए ।
पीएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।
पीएनजीका लागि चार्ल्स अमिनीले ५९ रनको अर्धशतकीय इनिङ खेले । सोमपालको ओभरमा दिपेन्द्रको हातबाट आउट हुनुअघि उनले ८२ बल खेल्दै ७ चौका प्रहार गरे ।
यस्तै ओपनर टोनी उराले २७ तथा लेगा सियकाले २५ रन बनाए । चाद सोपरले ३५, नोरमान भानुले २३ असद भालाले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
नेपालका सोमपाल कामीले ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान १/१ विकेट लिए ।
अब नेपालले दोस्रो खेलमा घरेलु टोली युएईसँग शुक्रबार खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।
नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।
लिग टु मा कुल ७ टिम सहभागि रहेका छन् ।
नेपालले ९ खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । अंक विहीन पीएनजी १४ खेल खेल्दै पुछारमा रहेको छ ।