काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई जितका लागि २ सय ५ रनको लक्ष्य दिएको छ ।
यूएईको सारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनायो ।
पीएनजीका लागि चार्ल्स अमिनीले ५९ रनको अर्धशतकीय इनिङ खेले । सोमपालको ओभरमा दिपेन्द्रको हातबाट आउट हुनुअघि उनले ८२ बल खेल्दै ७ चौका प्रहार गरे ।
यस्तै ओपनर टोनी उराले २७ तथा लेगा सियकाले २५ रन बनाए । चद सोपरले ३५, नोरमान भानुले २३ असद भालाले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
नेपालका सोमपाल कामीले ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान १/१ विकेट लिए ।
नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
लिग टु मा नेपालले ८ खेलमा ८ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ ।
नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।
नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।
लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् ।