काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा युनाईटेड अरब इमिरेट्स (युएई) विरुद्ध पराजय भोगेपछि नेपाल अष्ट्रेलियामा यसै वर्ष हुने टी–ट्वान्टी विश्वकपका लागि छनोट हुन असफल रह्यो ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालले युएईले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८ दशमबल ४ ओभरमा अलआउट हुदै केवल १ सय ७ रन बनाउन सक्यो ।
परिणामस्वरुप ६८ रनको पराजय भोगेसँगै ८ वर्षपछि एकपटक पुनः विश्वकप खेल्ने सपना चकनाचुर भयो ।
युएईविरुद्ध पराजय भोग्नुका कैयौ कारण थिए ।
दोस्रो ओभरमै जितेन्द्र मुखियाले चिराग सुरीको विकेट लिदै नेपाललाई युएईमाथि हावी हुने अवस्था सृजना गरेको थियो।
तर समूह चरणमा आयरल्यान्डविरुद्ध अविजित रहदै ६७ बलमा ९७ रन, जर्मनीविरुद्ध २९ बलमा ४० तथा बहराईनविरुद्ध ५२ बलमा अविजित ८४ रन बनाएका १९ वर्षीय भृत्या अरविन्दको विकेट छिटो लिन नसक्नु नेपालको पराजयको एउटा प्रमुख कारण थियो ।
२३ बलमा ४६ रन बनाउदै सन्दीप लामिछानेबाट आउट हुनु अघि सुरुआती ६ ओभरको पावरप्लेमै अरविन्दले ओपनर मुहम्मद वासिमसँग मिलेर ५८ रन बनाउन सफल भएका थिए ।
एकहिसाबले नेपालका लागि पराजयको सुरुआत नै थियो त्यो ।
अरविन्दले नेपाली फास्ट बलरहरुमाथि हावी भएपछि नेपाली बलरको आत्मविश्वास खस्किन पुगेको थियो ।
आठौ ओभरमा अरविन्दको विकेट गएपनि ४८ बलमै ७० रन जोडेका मुहम्मद वासिमले नेपाली बलरहरुमाथि हावी भइरहे ।
तर तेस्रो विकेट लिन नेपालले धेरै ठिलो गर्यो जुन पराजयको अर्को कारण थियो । १७ ओभरमा तेस्रो विकेट लिनु र युएईले १ सय ३६ रन बनाइसक्नुले स्पष्ट संकेत गरेको थियो कि नेपालले ठूलो लक्ष्यको पछ्याउनुपर्नेछ ।
समूह चरणमा फिलिपिन्सबाहेक ओमान र क्यानाडामाथि जित निकाल्दा नेपालको ब्याटिङको खासै भूमिका थिएन भन्दा फरक नपर्ला । खासगरी बलरहरुकै भरमा नेपालले ओमान र क्यानाडामाथि महत्वपूर्ण जित निकालेको थियो ।
नेपालको कमजोर ब्याटिङ युएईविरुद्ध भने स्पष्ट देखियो ।
अनुशासित बलिङ गरेको युएईका तिव्रगतिका बलरसामु नेपाली ब्याटसम्यानलाई खुलेर खेल्न दिएनन ।
१ सय ७६ रनको लक्ष्य पछ्याउदा पहिलो ओभरमै दुई विकेट तथा १४ रन जोड्दा ३ विकेट गुमाउनु पक्कैपनि खराब सुरुआत थियो ।
ठूलो लक्ष्य पछ्याएको नेपालका लागि त्यो भन्दा ठूलो दवाव के होला ?
नेपालका लागि जितका लागि चाहिने रनरेट बढ्दै गएपछि नेपाल झन दवावमा पर्दैगयो फलस्वरुप ठूला शट प्रहार गर्ने क्रममा विकेट गुमाउदै गयो ।
त्यतिमात्र नभएर नेपाली टोलीमा युवा क्रिकेटर तथा खासै अनुभव नभएका खेलाडीहरु थिए र यस्तो कठिन परिस्थितलाई उनीहरुले आफ्नो पक्षमा पार्न सकेनन ।
परिणामस्वरुप नेपाल विश्वकपको धेरै नजिक पुगेर पनि धेरै टाढा हुन पुग्यो ।