काठमाडौं । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपमा सुदुरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गर्दै सुदुरपश्चिमले विजयी सुरुआत गरेको हो ।
१ सय ४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८५ रन मात्र जोड्न सक्यो ।
मेयर्स–११ का लागि सरस्वती चौधरीले सर्वाधिक २६ रन जोडिन् ।
साना प्रविनले १५ रनको योगदान गरिन् । कञ्चन श्रेष्ठ १० रनमा आउट भईन ।
सुदुरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक ३ विकेट हात पारिन् ।
कविता कुवँरले दुई विकेट लिईन् । ४ ओभर बलिङ गरेकी कविताले एक मेडन ओभर फाल्दै मात्र ५ रन खर्चिइन् ।
इश्वरी विष्ट र सम्झना खड्काले एक–एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४३ रन जोडेको थियो ।
सुदुरपश्चिमका लागि कप्तान रितु कनौजियाले सर्वाधिक ४२ रनको योगदान गरिन् । रितुले २९ बल खेल्दा ६ चौका प्रहार गरिन् ।
रेवती ढकालले २९, विन्दु रावलले २८ तथा डोली भट्टले २५ रन जोडे ।
मेयर्स–११ का लागि खुसी डंगोलले सर्वाधिक २ विकेट हात पार्दा अनुराधा चौधरी, आरती विडारी र अस्मीना कर्माचार्यले एक–एक विकेट लिए ।