काठमाडौं । केही महिना अघिमात्र नेपाल क्रिकेटमा एउटा ठूलो दुर्घटना टर्यो ।
दुर्घटना मात्र टरेन, एकहिसाबले भन्ने हो भने पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी तथा अर्कोतर्फ नेपाल क्रिकेट संघ (क्यान) पनि कलंकित हुनबाट जोगिए ।
मंसिर २९ गते क्यानले कारवाही गर्दै ज्ञानेन्द्रको कप्तान तथा दिपेन्द्रको उपकप्तान पद खोस्नुका साथै ज्ञानेन्द्र र दिपन्द्रसहित सोमपाल र कमललाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिना नराख्ने निर्णय पनि लियो ।
ज्ञानेन्द्रको स्थानमा युवा लेग स्पीनर सन्दीप लामिछानेलाई कप्तान समेत चयन गर्यो ।
यसविरुद्ध ती चारजना खेलाडीमात्र होइनन राष्ट्रिय टिमका अन्य खेलाडी तथा क्रिकेट खेलाडी संघ नेपालले खुलेरै विरोध गरे ।
ती चारैजनाले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने भनी क्यानलाई सचेत समेत गराएका थिए ।
सायद नेपाली क्रिकेटमा इतिहास लेखिनु थियो र त उनीहरुले ब्याट र बल छाड्नुपर्ने अवस्था आउन पाएन ।
राजनीतिक दलका शीर्ष नेताहरुले समेत यस विषयमा गम्भिर चासो देखाएका थिए र क्यानको कारवाही फिर्ता हुनुपर्ने धारणा व्यक्त गरे ।
धेरै छिटो नभएपछि धेरै ढिलो पनि नगरी पुस १८ मा क्यान र खेलाडीबीच सहमति भएपछि खेलाडीहरु आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि सुरु भएको बन्द प्रशिक्षणमा सहभागी भए ।
अन्ततः माघ १३ मा क्यानले औपचारिक रुपमै ज्ञानेन्द्रको कप्तान र दिपेन्द्रको उपकप्तान पद खोसेपनि चारैजना क्रिकेटरलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिना नराख्ने निर्णय फिर्ता लियो । साथै क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा समेत परिवर्तन गर्ने निर्णय गर्यो ।
यसले नेपाली क्रिकेटको ठूलो दुर्घटनालाई टार्न सफल भयो ।
दुर्घटना टर्नु सायद नेपाली क्रिकेटका लागि एउटा सुनौली विहानीको संकेत थियो ।
सायद एउटा इतिहास लेखिनु थियो र सबै समस्या समाधान भए ।
चारै जना क्रिकेटरले विश्वकप छनोटका लागि भएको बन्द प्रशिक्षणमा सहभागी भए, अस्वस्थताका कारण सोमपाल टिममा नअटाएपनि ज्ञानेन्द्र, दिपेन्द्र र कमल नेपाली टिमसँगै ओमान प्रस्थान गरे ।
खेलाडीहरुको एकता साथै प्रशिक्षक र कप्तानको रणनीतिले नेपालले विश्वकप छनोटमा एकपछि अर्को सफलता हात पार्दै गएको छ ।
अनुभवी र युवा क्रिकेटरले नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना साकार पार्न केवल एक खेल जित्नुपर्नेछ । केवल एउटा खेल जिते नेपाल यसै वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी–ट्वान्टी विश्वकप खेल्नेछ ।
यस अवस्थासम्म आइपुग्न क्यान र कारवाहीमा परेका खेलाडीले देखाएको बुद्धिमतालाई सलाम गर्नैपर्छ ।
टीममा ज्ञानेन्द्र, दिपेन्द्र र कमल नभएको भए नेपालको विश्वकप छनोटको यात्रा कहाँसम्म गएर विश्राम लिन्थ्यो त्यो अनुमान लगाउने कुरा मात्र हुनेछ अब ।
वास्तविकता के हो भने उनीहरु सहभागी भएर (अन्य खेलाडीलाई कम आक्ने प्रयास भने यो पक्कै होइन्) टिम मोटिभेटेट छ र प्राप्त गर्नुपर्ने सफलतातर्फ लम्किरहेको छ ।
सायद नेपाली क्रिकेटका लागि बुधबारको विहानी एउटा सुनौलौ विहानीको रुपमा रहनेछ ।