काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाललाई विश्वकपमा छनोट गराउन सेमिफाइनलमा युएईविरुद्ध ज्यु ज्यान लगाएर खेल्ने बताएका छन् ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट ए अन्तर्गत सोमबार क्यानडाविरुद्ध जितपछि बोल्दै कप्तान सन्दीपले नेपाललाई विश्वकपमा छनोट गराउने बताएका हुन् ।
'हाम्रो तर्फबाट अहिलेसम्म शतप्रतिशत दिएका छौँ । त्यसरी नै भोलि पनि ज्यु ज्यान लगाएर नेपाललाई विश्वकपमा छनोट गराउने छौँ ,' सन्दीपले भने ।
क्यानडालाई हराएसँगै नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अब नेपालले भोलि युएईविरुद्ध खेल्नेछ ।
यस्तै सन्दीपले अहिलेसम्म विश्वास गरेकोमा समर्थकहरुलाई धन्यवाद दिए ।
'सम्पूर्णलाई धन्यवाद, किनभने हामीलाई विश्वास गर्दिनु भएकोमा । हाम्रो लागि भोलि एउटा महत्वपूर्ण खेल छ,' सन्दीपले भने, 'सबै जनाको त्यतिकै माया प्रेम र प्रेसको पनि आशा छ । 'अहिलेसम्म सबैले माया गर्दिनु भएकोमा धन्यवाद ।'
क्यानडाविरुद्ध कप्तान सन्दीप प्लेयर अफ दि म्याच समेत चुनिए ।
फाइनल प्रवेश गर्ने टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।