काठमाडौं । दक्षिण अफ्रिकाका ब्याट्सम्यान क्विन्टन डी ककले टिमका सदस्य तथा समर्थकसँग माफी मागेका छन् ।
उनले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलका क्रममा घुँडा टेक्न नमान्दा टिमका सदस्य तथा समर्थकहरुको चित्त दुखेको, भ्रम पैदा भएको तथा आक्रोश पोखिएकोप्रति माफी मागेका हुन् ।
दक्षिण अफ्रिका क्रिकेट बोर्डको निर्देशन अनुसार ब्ल्याक लाइभ्स म्याटरको समर्थनमा खेल अघि खेलाडीहरुलाई घुँडा टेक्नुपर्ने थियो ।
तर डी ककले निर्देशन विपरित वेस्ट इन्डिजविरुद्धको खेल्ने खेलाडीको सूचीबाट आफूलाई हटाएका थिए ।
डी ककले आफूले घुँडा नटेक्नुको कारण भने खुलाएका छन् ।
उनका अनुसार क्रिकेट बोर्डले आफूहरुलाई दिएको निर्देशनले आफ्नो अधिकार कटौती भएझै लागेको थियो ।
तर बोर्ड सदस्य तथा खेलाडीहरुसँगको कुराकानी पछि डी ककले देशका लागि खेल्ने बताए ।
यसको अर्थ डी ककले श्रीलंकाविरुद्ध सनिबार हुने खेल खेल्नेछन् ।
उनले सो कुरालाई विवादको विषय बनाउन नखोजेको तथा आफूलाई विभेद विरुद्ध उभिनुको महत्व थाहा भएको बताए ।
डी ककले खेलाडीको हैसियतले उदाहरण बसाल्ने जिम्मेवारीको बारे आफू जानकार रहेको समेत जनाए ।
‘यदि मैले घुँडा टेकेर अरुलाई शिक्षा प्राप्त हुन्छ र अरुको जीवन राम्रो बनाउँछ भने म त्यसो गर्न पाउँदा खुसी हुन्छु,’ डी ककले थपे ।