काठमाडौं । ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज (आइतबार) बाट पुन: सुचारु हुँदैछ ।
एएफसी कप अन्तर्गत नेपालको मनाङ मर्स्याङ्दी क्लब र चेन्नईयिन एफसीबीचको खेलका लागि प्रतियोगिता केहि दिन स्थगित गरिएको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दुई खेल हुनेछ । आइतबार हुने पहिलो खेलमा ब्रिगेड ब्वाईज र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र भ्याली च्यासल युथ क्लबबीच खेल हुनेछ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।