एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले बेल्जियमका फरवार्ड ईडेन हजार्डलाई चेल्सीबाट अनुबन्धन गर्ने प्रक्रिया अघि बढाएको छ । रियलले चेल्सी स्टार हजार्डलाई ८८ मिलियन पाउण्डमा अनुबन्धन गर्ने प्रयास केही दिनमा टुङ्गो लाग्ने बताएको छ ।
हजार्डको चेल्सीसंगको अनुबन्धन समय यसै बर्ष सकिदैछ । उनैको दुई गोलको सहयोगमा चेल्सीले पछिल्लो हप्ता युरोपा लिगको उपाधि उचालेको थियो ।
२८ बर्षिया खेलाडीले चेल्सीको जर्सीमा ३ सय ५२ खेलमा १ सय १० गोल गरेका छन् । उनी सन् २०१२ मा फ्रेन्च क्लब लिलीबाट चेल्सी आएका थिए ।
सात सिजन चेल्सीमा बिताउँदा उनले दुई पटक प्रिमियर लिग र युरोपा लिग तथा एफ ए कप र लिग कपको उपाधि उचालेका थिए ।
उनले खुल्ला रुपमा आफु रियल मड्रिड जान ईच्छुक रहेको बताएका थिए । उनले रियलबाट खेल्नु आफ्नो सपना रहेको बताउने गरेका थिए ।
सन् २०१७ को जुनमा हजार्डले रियलबाट प्रस्ताव आएमा आफुले सुन्ने बताएका थिए । उनले ६ बर्ष क्लबमा बिताएपछि केही नयाँ चिजको खोजीमा रहको बताउने गरेका थिए ।
गत बर्षबाट चेल्सीले हजार्डलाई नयाँ सम्झौताका लागि प्रस्ताव गरिरहेको थियो । तर हजार्डले रियल मड्रिडमा जाने ईच्छा देखाईरहेका छन् ।
‘यो मेरो सपना बाल्यकाल देखिको हो । यो क्लबको बिषयमा मैले सपना देखिरहेको छ ।’ सम्भावित स्थानान्तरणको बिषयमा गरिने प्रश्नमा हजार्डले भनेका छन् ।