काठमाडौं। लमिन यमलले पेनाल्टीमार्फत् गोल गरे पनि रायो भालेकानोविरुद्ध बार्सिलोनालाई एक अंक दिलाउन गोलकिपर जोआन गार्सियाले महत्त्वपूर्ण भूमिका खेले। आइतबार भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोना १–१ को बराबरीमा रोकिएर फर्कियो।
गत वर्षको च्याम्पियन बार्सिलोना राजधानी मड्रिडको साधारण क्लबसँग दबाबमा देखियो। यो बराबरीसँगै बार्सिलोनाको यस सिजनको जित यात्रा तोडिएको छ। यसअघि उसले मायोर्का र लेभान्टेलाई हराउँदै सुरुआती दुई खेल जितेको थियो।
बार्सिलोनाले ४०औं मिनेटमा पेनाल्टी पाएको थियो। १८ वर्षीय यमल आफैंले प्रहार गर्दै गोल गरे। डिफेन्डरलाई ड्रिबल गरेर अघि बढ्दा पेप चाभार्रियाले उनलाई लडाएपछि पेनाल्टी पाएको हो।
गोलपछि यमलले टाउकोमा मुकुट लगाएको झैं इशारा गर्दै सेलिब्रेट गरे। यो उनको यस सिजनको दोस्रो गोल हो भने बार्सिलोनाका लागि पहिलो पेनाल्टी गोल हो।
यमलले भने,‘म माथि प्रहार भएको थियो, म आत्मविश्वासी थिएँ र सधैं टिमलाई काँधमा बोकेर अगाडि बढ्न तयार हुन्छु।’
तर, रायोका जोर्जे दे फ्रुटोस, आल्भारो गार्सिया र इसी पालाजोनको तीव्रता र दबाबले बार्सिलोनाको हाइलाइन डिफेन्स बारम्बार भत्काइदियो।
बार्सिलोनाका गोलकिपर गार्सियाले पाँच महत्त्वपूर्ण बचाउ गरे, जसमा दे फ्रुटोस र आन्द्रेई राटियुसँगको ‘वान–अन–वान’ अवसर पनि समावेश थियो।
तर, ६७औं मिनेटमा कार्नरबाट आएको बललाई असुरक्षित अवस्थामा छाडिएपछि फ्रान पेरेजले भलीमा जाली चुमाएर बराबरी गरिदिए।
बार्सिलोना प्रशिक्षक हान्सी फ्लिकले भने,‘हामीले बलमा अझ राम्रो नियन्त्रण गर्नुपर्छ। आजको अंकलाई सकारात्मक रूपमा लिनुपर्छ। जोआन गार्सियाले सानदार खेल खेले।’
त्यसैबीच, चेल्सीले बार्सिलोनाका मध्यपंक्तिका खेलाडी फर्मिन लोपेजलाई अनुबन्ध गर्ने चर्चाबीच उनले दोस्रो हाफमा विकल्पका रूपमा खेल खेले।
खेलमा भिडियो रिभ्यु प्रणाली (भीएआर) बिग्रिएको कारण विवाद बढ्यो। पहिलो हाफमै रेफ्रीले कप्तानहरूलाई यो प्रणाली काम नगरेको जानकारी दिएका थिए। त्यसैले यमलमाथि भएको चाभार्रियाको फाउलको कुनै पुनरावलोकन भएन।
रायोका प्रशिक्षक इनिगो पेरेजले विरोध गर्दा पहेँलो कार्ड पाए। उनले रिसको झोकमा आफ्नो स्टाफको ट्याबलेट राखिएको स्ट्यान्ड समेत ढाले। पछि उनले आफ्नै व्यवहारलाई लाजमर्दो भन्दै माफी मागे।
पेरेजले भने, ‘रेफ्रीलाई गल्ती गर्ने अधिकार हुन्छ भन्ने म मान्छु। तर, खेलको बीचमा एकपटक भीएआर प्रयोग गरेर फेरि अचानक नगर्ने भनिएको कुरा अस्वीकार्य छ। यसले खेलको शैली र रेफ्रीको निर्णय सबैलाई असर पार्छ।’