काठमाडौं। भारतीय पुरुष फुटबल टोलीले नयाँ मुख्य प्रशिक्षक खालिद जमिलको नेतृत्वमा ऐतिहासिक जित हासिल गरेको छ। केही साताअघि मात्र मुख्य प्रशिक्षक नियुक्त भएका जमिलको सुरुआत सानदार भएको हो।
शुक्रबार ताजिकिस्तानविरुद्ध भएको काफा नेसन्स कप २०२५ मा भारतले २–१ को रोमाञ्चक जित दर्ता गर्यो। भारतका लागि अनवर अली र सन्देश झिंगनले गोल गर्दै टोलीलाई जितसम्म पुर्याए।
यो जित विशेष मानिन्छ। किनभने दुई वर्षपछि पहिलो पटक भारतीय टोलीले विदेशी भूमिमा जित निकालेको हो। यसअघि भारतले सन् २०२३ नोभेम्बरमा विश्वकप छनोटमा कुवेतलाई हराएको थियो।
ताजिकिस्तानका लागि शाहरम सामिएभले एक गोल फर्काए, तर त्यो पर्याप्त भएन। झन् रोचक कुरा त के भने फिफा वरीयतामा ताजिकिस्तान भारतभन्दा २० स्थानमाथि छ।
जमिल युगको सुरुआत
जमिलको प्रशिक्षणमा भारतले ४–४–१–१ को नयाँ फर्मेसन अपनायो। विक्रमप्रताप सिंह र इरफान यादवदले अगाडि आक्रमण सम्हाले। खेलको १३औं मिनेटमै भारतले अग्रता दोब्बर पार्यो। त्यसपछि २१औं मिनेटमा एहेसोनी पंशानबेको कौशलबाट बल पाउँदै शाहरम सामिएभले ताजिकिस्तानको लागि गोल फर्काए।
खेलको अन्तिम क्षणमा ताजिकिस्तानका सोइरोभले बायाँपट्टिबाट क्रस उठाएका थिए तर हानोभको हेडर बाहिरियो। यससँगै घरेलु टोलीको फिर्ती प्रयास असफल रह्यो र अन्ततः २–१ को हार बेहोर्नुपर्यो।
यस जितपछि भारतीय टोलीले आत्मविश्वास बढाएको छ र आगामी समूह चरणमा कठिन प्रतिस्पर्धी इरानसँग भिड्न तयार हुनेछ। यो खेल सेप्टेम्बर १ मा हिसोर सेन्ट्रल रंगशालामा हुनेछ।