काठमाडौं। भारतविरुद्धको साफ यु–१७ महिला च्याम्पियनसिपको दोस्रो लेग फेरि पनि निराशामा टुंगियो। स्कोरलाइनभन्दा ठूलो कुरा खेलको मानसिकता र रणनीतिमा देखिएको कमजोरी हो।
सुरुआती १५ मिनेटमै दुई गोल खाँदा टिमको आत्मविश्वास नै कमजोर देखियो। त्यसपछि खेलाडीहरूले मैदानमा संघर्ष त गरे, तर खेलमा फर्किन सकेनन्।
नेपाली फुटबलमा पुरानै रोग बारम्बार देखिन्छ। गोल खाएपछि अनुशासन भंग हुनु र आत्मविश्वास तुरुन्तै डाउन हुनु। यही कारण भारतजस्तो बलियो टोलीविरुद्ध नेपालको खेल डिफेन्सिभ मात्रै देखियो, आक्रामक खेल्ने साहस देखिएन।
मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले खेलअघि विभिन्न योजना बनाएको दाबी गरेपनि वास्तवमा ‘प्लान बी’ नै हार नखाने मानसिकतामा आधारित थियो।
जितलाई साइडमा राखेर कम्तीमा एक अंक ल्याउने लक्ष्यले टिमलाई सुरुदेखि नै दबाबमा राखिएको थियो। तर, नेपालले ५–० को फराकिलो हार बेहोर्यो।
उनी भन्छन्,‘भारत राम्रै टिम थियो। हामीले पनि राम्रै खेल्यो। तर, अलिकति डिफेन्सिङ बढी खेलेको भएर फरवार्डमा त्यति जोड दिएनौं।’ स्वास्थ्य समस्या अर्को ठूलो कारण बनेको उनको जिकिर छ। यति ठूलो प्रतियोगितामा आएका धेरै युवा खेलाडी शारीरिक रूपमा शतप्रतिशत फिट देखिएनन्।
उनीहरूलाई बदल्ने वैकल्पिक खेलाडीहरू पनि त्यही स्तरका भएकाले टिममा सुधार ल्याउन नसकेको उनको तर्क छ। तर, यति मात्रै कारण ठहर्याएर नतिजाबाट पन्छिन सकिँदैन।
खेलमै देखिएका कमजोरीहरू प्रस्ट थिए। अग्रभागमा तालमेलको अभाव देखिएको थियो। छिटो पासको कमी र निर्णायक क्षणमा आक्रमणको साहस नदेखिनु नेपाली टोलीको फराकिलो हारको कारण बन्यो।
प्रशिक्षक श्रेष्ठले भनेझैं यो प्रतियोगिताले युवा खेलाडीलाई अनुभव दिन्छ भन्ने कुरा साँचो हो। तर, आलोचना गर्ने ठाउँ यहीँ छ। हरेक पटक भविष्यमा राम्रो हुन्छ भन्ने कुरा दोहोर्याएर मात्रै अब पन्छिन मिल्छ?
अहिले नै सुधार नगरेसम्म नेपाल फेरि पुरानै गल्ती रहने खतरा छ। तर, उनी यसतर्फ भने कुनै चासोसम्म दिँदैनन्। अब अन्तिम खेल भुटानसँग छ। घरेलु मैदान र घरेलु समर्थकबीच उत्रने भुटान हालको अवस्थामा सजिलो प्रतिद्वन्द्वी होइन।
पहिलो खेलमा पनि यो टोलीले नेपाललाई पहिलो हाफमा १–० ले पछि पारेको थियो। धन्न सहारा लिम्बूले दुई लङरेन्ज सर्ट प्रहार गरिन् र नेपालाई २–१ को पुनरागमन जित दिलाइन्। तर, भुटान अझै बलियो बनिरहेको छ।
बंगलादेशसँग १–१ को बराबरी गर्दै आफू उकासिसकेको भुटानी टोलीविरुद्ध नेपाल सुरक्षित रणनीतामा अड्किए भने फेरि गाह्रो हुनेछ।
अहिले नेपाली टोलीले सिक्नुपर्ने सबभन्दा ठूलो पाठ भनेको खेल सुरु हुनुअघि नै मानसिक रूपमा तयार हुनु हो। यसबाहेक आक्रामक सोचसहित मैदानमा उत्रनु अनि पाएको मौका खेर नफ्याँक्नु पनि हो।
भविष्यका सपना देखाउने कुरा भन्दा अघि वर्तमानको कमजोरी सुधार्नु आजको आवश्यकता हो। नत्र भने नेपालका युवा खेलाडीहरू अनुभव त बटुलिरहनेछन्, तर नतिजा भने सधैं अरूको पक्षमै गहिरहने छ। यो पछिल्ला संस्करणमा देखिएकै कुरा हो।