काठमाडौं। क्रिकेटमा कहिलेकाहीँ स्कोरकार्डले नै सबै कुरा व्यक्त गर्दैन– कसैको योगदान कति धेरै छ भनेर। यस्तै एक क्षणलाई सजीव बनाइन् नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले। उनले ‘प्लेयर अफ द म्याच’को ट्रफी आफ्नी सहकर्मी मनीषा उपाध्यायलाई सुम्पिन्।
आइसिसी महिला विश्वकप एसिया छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ‘सुपर थ्री’को पहिलो खेलमा यो ‘पार्टनर इन द म्याच’ देखिएको हो। ग्लोबल छनोटमा स्थान पक्का गर्न नेपाली टोली यो खेल जित्नैपर्ने दबाबमा थियो। यस्तो दबाबको क्षणमा कप्तान इन्दुले संयमित इनिङ्स खेल्दै ३० रन बनाइन् र नेपाललाई पाँच विकेटको जित दिलाइन्। तर, जब‘प्लेयर अफ द म्याच’ लिने क्षण आयो, उनले त्यो ट्रफी मनीषाको हातमा राखिदिइन्।
क्रिकेटमा एक बलले कहिलेकाहीँ खेलको दिशा मोड्न सक्छ। मनीषाको बलिङ यस्तै स्पेलको थियो। युएईका ईशा ओजा र लावन्या केनीले तेस्रो विकेटलाई लागि राम्रो साझेदारी गरिरहेका थिए। यस्तो अवस्थामा उनको कसिलो बलिङले उक्त साझेदारी तोड्न सफल भयो। योसँगै १२.४ ओभरमा इशा ३९ रनमै पेभिलियन फर्काइन्। त्यसपछि त हो युएईको ब्याटिङ लाइन नै धर्मराएको।
चार ओभरमा २० रन दिएर चार विकेट। यो आँकडा मात्र होइन, युएईको आत्मविश्वास तोड्ने एक निर्णायक प्रदर्शन रह्यो। इशा आउट भएसँगै युएईले पाँच विकेट गुमाएर स्कोरबोर्डमा मात्रै ३४ रन थप्न सक्यो। योसँगै नेपालले ११५ रनको लक्ष्य पाएको थियो।
उक्त लक्ष्य पछ्याउनेक्रममा इन्दुले २८ बलमा दुई चौकासहित ३० रनको अमिट इनिङ्स खेल्दिइन्। यस्तो खेलमा उत्कृष्ट खेलाडी चुनिँदा आँकडाले मात्र होइन, नेतृत्व र निर्णयशीलता पनि हेरिने गरिन्छ। इन्दुले त्यो चिह्न देखाएकी थिइन्। त्यसैले उनले नै ‘प्लेयर अफ द म्याच’को ट्रफी पाइन्। तर, उनले आफ्नो हक लाग्ने ट्रफी हाँसिहाँसी मनीषालाई सुम्पिइन्।
कप्तान हुनु भनेको निर्णय गर्ने व्यक्ति मात्रै हुनु होइन। टिमलाई अगाडि सार्ने, आत्मसम्मान र हौसला बाँड्ने व्यक्ति पनि हुनु हो। इन्दुको यो निर्णय नेपाली महिला क्रिकेटको इतिहासमा एक ट्रफी सुम्पिएको क्षणलाई मात्रै होइन, नेतृत्वको नयाँ परिभाषालाई दिइन्।
उनले जित पक्का गराइन्। तर, मनीषाको योगदान भुलिनन्। उनको यो निर्णयले मैदानमा प्रदर्शन मात्र होइन, मैदानबाहिरको परिपक्वता पनि देखिएको छ। इन्दु र मनीषाले देखाएको यो साझेदारीले टिममा रहेको विश्वास, समर्थन र एकता दर्शाउँछ भन्दा फरक नपर्ला !