काठमाडौं। म्यानचेस्टर युनाइटेड र टोटनह्यामको निराशाजनक सिजन युरोपा लिगको उपाधिसँगै समाप्त हुन सक्छ।
दुवै टोली प्रिमियर लिगमा संघर्ष गरिरहे पनि यी दुई टोली अब च्याम्पियन्स लिगमा स्थान बनाउन एक खेल मात्रै टाढा छन्। युरोपको दोस्रो श्रेणीको प्रतियोगिता युरोपा लिगको फाइनलमा पुगेसँगै यी दुई टोलीले यस्तो अवसर पाएका हुन्।
बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युनाइटेडले ओल्ड ट्राफोर्डमा एथ्लेटिक बिल्बाओलाई ४–१ ले हराउँदै समग्रमा ७–१ को जित हात पार्यो। टोटनह्याले नर्वेमा बोडो/ग्लिम्टलाई २–० ले हराउँदै समग्रमा ५–१ को जित निकाल्यो।
यो सँगै सन् २०१९ मा चेल्सीले आर्सनललाई हराएर उपाधि जितेकोपछि दोस्रोपटक युरोपा लिगमा दुई इङ्लिस क्लबबीच फाइनल हुने तय भएको छ।
‘यो क्लबको प्रशिक्षक हुनु के हो भन्ने वर्णन गर्न गाह्रो छ। हामीले समर्थकहरूलाई केही दिन चाहन्छौं, किनभने प्रिमियर लिगमा निकै निराशाजनक सिजन भयो,’ युनाइटेडका प्रशिक्षक रुबेन आमोरिमले भने।
बिल्बाओविरुद्धको खेलमा युनाइटेडले पहिलो हाफमा १–० ले पछि परेको थियो। तर, मेसन माउन्ट दोस्रो हाफमा बेञ्चबाट आएर दुई गोल गरेपछि टोलीले पुनरागमन गर्यो। कासेमिरो र रासमस होइल्यान्डले पनि गोल गरे।
टोटनह्यामका लागि डोमिनिक सोलान्के र पेड्रो पोरोले बोडो/ग्लिम्टविरुद्ध गोल गरे। फाइनल मे २१ मा बिल्बाओमा हुनेछ। ‘यो अविश्वसनीय महसुस हो,’ डिफेन्डर मिकी भ्यान डे भेनले भने, ‘हाम्रो सिजन कठिन रह्यो। तर, अब उपाधि जित्न एक खेल बाँकी छ।’
दुवै टोलीको लागि यो उपाधि मात्रले सिजनको खराब प्रदर्शनलाई बिर्सन सक्नेछ। साथै विजेता टोलीले च्याम्पियन्स लिगको स्थान पनि पाउनेछ।
युनाइटेड अहिले प्रिमियर लिगको १५औं स्थानमा छ र क्लबको इतिहासमै सबैभन्दा कम अंक बटुल्ने सम्भावनामा छ। टोटनह्याम अझै तल अर्थात १६औं स्थानमा छ र क्लब इतिहासमै १९ हार भोगेको छ।
फाइनलमा यी दुई टोलीबीच यो चौथो भिडन्त हुनेछ। अघिल्ला तीनवटै खेल टोटनह्यामले जितेको थियो।