काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिति मे को दोस्रो साता घोषणा हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उक्त जानकारी दिएका हुन्। पहिलो संस्करण गत वर्ष १६ मंसिरदेखि ६ पुससम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो।
‘यो प्रतियोगिता सुरु हुँदासम्म हामीले सबै योजना बनाइसक्ने छौं,’ उनले भने। गत संस्करण फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो।
अहिले त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका काम भइरहेका छन्। उक्त काम सकिएपछि मात्रै कुन समयमा खेल गराउने भन्ने एकिन गर्ने खड्काले बताए।
‘फ्लडलाइटमा पहिलोपल्ट नेपाली र विदेशी खेलाडीलाई खेलाउने तयारी छ,’ उनले भने।