काठमाडौं। जयकुमार नाथ शाह स्मृति इन्टर स्कुल क्रिकेट प्रतियोगिता वैशाख २२ गतेदेखि सुरु हुने भएको छ। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजना हुने प्रतियोगिता वैशाख २९ गतेसम्म सञ्चालन हुन लागेको हो।
प्रतियोगिता पहिलो दिन काठमाडौंको तल्लो मूलपानी, माथिल्लो मूलपानी र त्रिवि मैदानमा आयोजना हुनेछ। दोस्रो दिनदेखि त्रिवि मैदान र तल्लो मूलपानीमा हुने आयोजकले जनाएको छ।
यो प्रतियोगितालाई एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ छनोटको रूपमा लिइएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई काठमाडौं जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू-१६ टोलीको छनोटका लागि अवसर दिइने आयोजकले जनाएको छ।
पहिलो संस्करणमा १६ स्कुलहरुले भाग लिएका थिए। यस पटकको दोस्रो संस्करणमा २१ वटा स्कुलहरु सहभागी हुने भएका छन्। सहभागी विद्यालयलाई सात समूहमा विभाजन गरिएको छ।
समूह विजेता सात टोली र एक उत्कृष्ट दोस्रो टोली क्वार्टरफाइनलमा पुग्नेछन्। प्रतियोगिताका कुल २८ खेल सञ्चालन हुनेछन्। विजेता टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेता टोलीले ७५ हजार रुपैयाँमा चित्त बुझाउने छन्। उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ हात पार्नेछन्। उत्कृष्ट बलर, ब्याटर र इमर्जिङ खेलाडीले जनही पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्।