काठमाडौं। पञ्जाब किंग्सका विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलको औंला भाँचिएको छ।
उनी २०२५ को आइपिएलबाट लगभग बाहिरिसकेका छन्। पञ्जाबका कप्तान श्रेयस अय्यरले टसको समयमा उनको चोटको बारेमा जानकारी दिएका थिए।
मार्कस स्टोइनिसले पनि आफ्नो औंला भाँचिएको पुष्टि गरे। ‘दुर्भाग्यवश म्याक्सीको औंला भाँचिएको छ। अभ्यासको क्रममा उसको औंला भाँचिएको थियो। उसको स्क्यान गरिएको थियो। तर नतिजा राम्रो आएन। त्यसैले म्याक्सी प्रतियोगिताबाट लगभग बाहिरिसकेको छ,’ उनले भने।
म्याक्सवेलको सिजन बिर्सनलायक रह्यो। यस सिजन सात खेलको ६ इनिङ्समा आठको कमजोर औसतमा ४९ रन बनाएका छन्।
उनको उत्कृष्ट स्कोर ३० रन रहेको छ। उनले पाँच चौका र एक छक्का मात्र प्रहार गर्न सकेका छन् भने एक पटक शून्यको स्कोरमा आउट भएका थिए। पञ्जाबले उनलाई दुई खेलमा प्लेइङ ११ बाट पनि बाहिर राखेको थियो।
नोभेम्बरमा जेद्दामा भएको मेगा अक्सनमा पञ्जाबले म्याक्सवेललाई चार करोड २० लाख भारुमा किनेको थियो।