काठमाडौं। देव खनालको अर्धशतक र युवराज खत्रीको सानदार बलिङसँगै रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल ब्ल्युले कोर क्यापमा पहिलो जित हात पारेको छ।
मंगलबार सम्पन्न खेलमा ब्ल्युले ग्रिनलाई ६४ रनले पराजित गरेको हो। पहिलो खेलमा नेपाल ब्ल्युलाई सन्दीप लामिछानेको कप्तानीमा रहेको रेडसँग १९९ रनले पराजित भएको थियो। ग्रिनको भने लगातार दोस्रो हार हो। पहिलो खेलमा यल्लोसँग ग्रिन १७ रनले पराजित भएको थियो।
ब्ल्युले दिएको २२३ रनको लक्ष्य पछ्याएको ग्रिनले ४०.२ ओभरमा सबै विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो। ग्रिनका कप्तान आशिफ शेखले सर्वाधिक ५६ रन बनाए। ५२ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे।
आकाश त्रिपाठीले ६९ बलमा दुई चौका र एक छक्कासहित ३७ रन बनाए। अर्जुन कुमाल १४ रनमा आउट हुँदा सोमपाल कामी २४ रनमा अविजित रहे।
ब्ल्युका युवराजले सर्वाधिक चार विकेट लिए। नौ ओभर बलिङ गरेका उनले ३५ रन खर्चिए। कुशल मल्लले दुई विकेट लिँदा दीपेश कँडेल, सूर्य तामाङ र रोहितको नाममा समान एक विकेट रह्यो।
त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ब्ल्युले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाउँदै २२२ रन बनायो।
ब्ल्युका देवले सर्वाधिक ७७ रन बनाए। ८१ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे।
गुल्शनकुमार झाले ५१ बलमा पाँच चौका र एक छक्का प्रहार गरे। अनिलकुमार साह ३१, करण केसी २४ र शकिब हक १९ रनमा आउट भए।
ग्रिनका सागर ढकालले सर्वाधिक तीन विकेट लिए। नौ ओभर बलिङ गरेका उनले ५३ रन खर्चिए। राशिद खानले दुई विकेट लिँदा सोमपाल कामी, रिजन ढकाल र पवन सर्राफको नाममा समान एक विकेट रह्यो।