काठमाडौं। भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की आएको छ। बुधबार आईएसआईएस कश्मीर नामक इमेल आइडीबाट दुईवटा मेल आएको हो। जसमा लेखिएको थियो– आई किल यू!
गम्भीरले यसबारे बिहीबार दिल्लीको राजेन्द्रनगर प्रहरी चौकीमा उजुरी दिएका छन्। उनले प्रहरीसँग आफ्नो परिवार र नजिकका व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन्। गम्भीरलाई यसअघि पनि नोभेम्बर २०२१ मा सांसद रहेका बेला धम्कीपूर्ण इमेल आएको थियो।
जम्मू–कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणको निन्दा गर्दै गम्भीरले त्यसको कडा जवाफ दिनुपर्ने बताएका थिए।
‘म मृतक परिवारका लागि प्रार्थना गर्दछु। यस घटनाका दोषीहरूले यसको मूल्य चुकाउनु पर्नेछ,’ उनी लेखेका छन्। मंगलबार पहलगामको बायसरन उपत्यकामा आतंककारीहरूले गरेको गोलीबारीमा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएको थियो।
यस हमलाको जिम्मा पाकिस्तानमा अवस्थित आतंकवादी संगठन लश्कर–ए–तैयबाको शाखा ‘द रेजिस्टेन्स फ्रन्ट’ले लिएको थियो। टी–२० विश्वकप २०२४ पछि गौतम गम्भीरलाई भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनाइएको हो।
यसअघि उनी आइपिएल टिम कोलकाता नाइट राइडर्ससँग आवद्ध थिए। उनीकै नेतृत्वमा भारतले हालै पाकिस्तान र दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो। भारतले १२ वर्षपछि गम्भीरको प्रशिक्षणमा च्याम्पियन्स ट्रफी पनि जित्न सफल भयो।