विराटनगर। विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा बैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिता हुन लागेको हो।
आयोजक एमएम कप फाउन्डेसनले यसअघि दुई संस्करण सुनसरीको इनरुवामा गराएको थियो। दुवै संस्करणको उपाधि आर्मीले जितेको थियो। आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले नेपाली क्रिकेटको विकास र स्तरोन्नतिका लागि नेपालमा कमै मात्रामा हुने ५० ओभरको प्रतियोगिता गर्न लागिएको बताए।
प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी हुनेछन्। एक करोड लागतमा आयोजना भइरहेको प्रतियोगिता विजेतालाई नगद चार लाख र उपविजेतालाई दुई लाख प्रदान गरिने छ।
प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने दुवै टोलीका शीर्ष टोलीले फाइनल खेल खेल्ने छन्।
१३ गते साबिक विजेता टिम आर्मीले एपिएफको सामना गर्दे प्रतियोगिताको सुरुआत गर्नेछ। प्रतियोगिताको फाइनल खेल २० गते हुनेछ।