काठमाडौं। लखनऊ सुपर जायन्ट्सले राजस्थान रोयल्सविरुद्ध दुई रनको रोमाञ्चक जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा शीर्ष चारमा प्रवेश गरेको छ।
यस जितसँगै लखनऊले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पछि पार्दै तालिकामा फड्को मारेको हो। लखनऊका मालिक सञ्जीव गोयनका यो खेलपछि निकै उत्साहित देखिए। हारमा कहिलेकाहीँ गम्भीर देखिने गोयनका यो जितमा मुस्कानसहित खेलाडीलाई समर्थन गर्दै स्ट्यान्डमै देखा परे।
तर, खेलको अर्को केन्द्रमा थिए १४ वर्षीय वैभव सूर्यवंशी। उनले राजस्थानबाट आइपिएलमा डेब्यु गरेका हुन्। उनको आत्मविश्वासपूर्ण प्रदर्शनले दर्शकदेखि विपक्षी टिम मालिकसम्म सबैको मन जित्यो।
लखनऊका कप्तान ऋषभ पन्तसँगै अब्दुल समद, आवेश खान र एडेन मार्करामको उत्कृष्ट प्रदर्शनलाई सामाजिक सञ्जालमार्फत बधाई दिँदै गोयनकाले विपक्षी खेलाडी वैभवको पनि खुलेर प्रशंसा गरे।
‘क्या सानदार डेब्यु थियो वैभव सूर्यवंशीको। एक प्रतिभाशाली खेलाडी र भविष्यको सुपरस्टार। तिमीलाई निरन्तर सफलता मिलोस्,’ उनले लेखेका छन्।
खेलपछि वैभव र गोयनकाबीच भएको भेटको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भएको छ। आइपिएल इतिहासमै सबैभन्दा कान्छा खेलाडीको रूपमा डेब्यू गरेका वैभवले २० बलमा ३४ रन बनाए। उनले तीन छक्का र दुई चौका प्रहार गरेका थिए। शार्दुल ठाकुरको पहिलो बलमै छक्का हान्दै उनले आफ्नो आगमन घोषणा गरेका थिए।
अर्धशतकनजिक पुगेर आउट भएपछि उनी भावुक देखिए। तर, उनको प्रदर्शनले क्रिकेटप्रेमीको मन जित्न सफल भयो। यद्यपि, राजस्थान मात्र दुई रनले पराजित हुन पुग्यो। यो खेल लामो समयसम्म वैभवको आत्मविश्वासपूर्ण आगमनका लागि सम्झिइनेछ।