युके एफसीलाई पराजित गर्दै मच्छिन्द्र उपाधिनजिक
-1739979292.jpg&w=3840&q=75)
इलाम। मच्छिन्द्र फुटबल क्लब १५ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा युनाइटेड खर्साङ फुटबल क्लब (युके एफसी)लाई ३ —१ ले पराजित गर्दै मच्छिन्द्र फाइनल प्रवेश गरेको हो। खेलमा पहिलो हाफसम्म दुवै टिमले गोल गर्न सकेनन्।
दोस्रो हाफमा गोलका लागि दुवै टिम आक्रामक बने। खेलको ६५औं मिनेटमा युके एफसीका खेलाडी हेमराज भुजेलले गोल गर्दै टिमलाई अग्रता दिलाए।
एक गोलले पछि परेको मच्छिन्द्रले त्यसको तीन मिनेटपछि पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्यायो। युकेएफसीका खेलाडीले फउल गरेपछि पाएको मछिन्द्रले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई विदेशी खेलाडी ओमोलजा नुरेन करिमले सदुपयोग गरे।
७२औंं मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी मल्लिक युसुफले गोल गर्दै टिमलाई अग्रता दिलाए। मल्लिकले वान भर्सेस वानको स्थितिमा आकर्षक गोल गर्दै टिमको अग्रता बढाए। अन्तिम समयमा खेल निकै रोमाञ्चक बनेको थियो। गोलका लागि दुवै टिमले गोल पोस्टमा गरेको प्रहार सफल हुन सकेन।
निर्धारित समयपछि थपिएको अतिरिक्त चार मिनेटको समयलाई सदुपयोग गर्दै मच्छिन्द्रले गोलअन्तर बढायो। थपिएको अतिरिक्त समयको तेस्रो मिनेटमा मल्लिकले व्यक्तिगत दोस्रो गोल गर्दै जितको अन्तर फराकिलो बनाए।
दुई गोल गरेका युसुफ प्लेयर अफ द म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे। फाइनल प्रवेश गरेको मच्छिन्द्रले बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार फाइनल खेल खेल्नेछ। दोस्रो सेमिफाइनल खेल दुई पटकको विजेता सगरमाथा युथ क्लब मोरङ र धरान फुटबल क्लब सुनसरीबीच हुनेछ।












-1761130437587.jpg&w=3840&q=75)
