काठमाडौं। इजिप्टियन स्ट्राइकर ओमर मारमौश म्यानचेस्टर सिटीमा अनुबन्ध हुने सम्भावना उच्च छ। फ्रान्कफर्टले म्यानचेस्टर सिटीसँग कुरा भइरहेको जानकारी दिएको छ र मारमौशले पनि क्लब छोड्ने सम्भावना रहेको बताएका छन्।
फ्रान्कफर्टले बुन्डेसलिगामा बोरुसिया डर्टमन्डलाई २–० ले पराजित गर्दा मारमौश टोलीको सूचीमा थिएनन्। खेलपछि भने उनी आफ्ना सहकर्मीसँग मैदानमा आएर समर्थकमाझ बिदाइ लिए।
खेलअघि प्रसारकसँगको अन्तर्वार्तामा खेलकुद निर्देशक मार्कस क्रोशेले भने,‘मैले यसअघि पनि भनेको छु कि हामी एक क्लबसँग छलफलमा छौं। अन्ततः त्यो क्लब म्यानचेस्टर सिटी हो र हामी दुई दिनदेखि नजिकबाट सम्पर्कमा छौं।’ उनले यो सरेर जाने कुरा मारमौशको लागि विशाल अवसर हुने पनि बताए।
‘यो केहि घण्टा वा दिनमा कसरी विकसित हुन्छ, हेर्नेछौं। तर, अहिले उनी हामीलाई छोड्ने उच्च सम्भावना छ,’ क्रोशेले थपे।
यस सिजन मारमौश युरोपेली फुटबलका शीर्ष गोलकर्ताहरूमा रहेका छन्। उनले बुन्डेसलिगामा १७ खेलमा १५ गोल गरेका छन्, जुन शीर्ष गोलकर्ता ह्यारी केनभन्दा एक कम हो। सम्पूर्ण प्रतियोगितामा उनले २६ खेलमा २० गोल गरेका छन्।
सन् २०२३ मा उनी वोल्फ्सबर्गबाट फ्रान्कफर्टमा निशुल्क स्थानान्तरण भएका थिए। उनले अघिल्लो सिजन मात्र पाँच गोल गरेका थिए। फ्रान्कफर्टसँग उनको सम्झौता २०२७ सम्मका लागि छ। शुक्रबार म्यानचेस्टर सिटीले आफ्नो स्टार स्ट्राइकर एर्लिङ हालान्डलाई २०३४ सम्मको लागि सम्झौता गरेको छ।