काठमाडौं। ह्यारी केनको ह्याट्रिकमा बायर्न म्युनिखले बुन्डेसलिगामा अग्सबर्गलाई ३–० ले पराजित गरेको छ।
यो जितसँगै बायर्नले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ। इङ्ल्यान्डका फरवार्ड बुन्डेसलिगामा आफ्नो ४३औं खेलमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी बनेका छन्।
यद्यपि, प्रशिक्षक भिन्सेन्ट कोम्पनीको टोलीले जित निकाल्न इन्जुरी समयसम्म पर्खनुपरेको थियो। तर, केनले दोस्रो पेनाल्टीमार्फत गोल गर्दै नतिजा पक्का गरे। उनले ६३ र ९३औं मिनेमा पेनाल्टीमार्फत गोल गरेका थिए। त्यसको दुई मिनेटपछि लियोन गोरेट्ज्काको क्रसलाई नियन्त्रण गर्दै केनले हेडरमार्फत गोल गरे र ह्याट्रिक पूरा गरे।
केनले भने, ‘हामीले धैर्य गर्नुपर्थ्यो। पहिलो हाफमा हामीले केही अवसर पाएका थियौं। तर, सदुपयोग गर्न सकेनौं। खेललाई ओपनिङ गर्न पेनाल्टी पायौं।’ च्याम्पियन्स लिगअन्तर्गत अक्टोबर २३ मा बार्सिलोनासँग ४–१ ले पराजित भएपछि बायर्नले लगातार छैटौं जित हात पारेको हो।