साफमा घाइते भएका खेलाडीसँग एन्फा अध्यक्षको आधा महिनापछि भेट

काठमाडौं। घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिप खेल्दा घाइते भएका दुई राष्ट्रिय खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले झन्डै आधा महिनापछि भेटेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको च्याम्पियनसिपअन्तर्गत गत कार्तिक ४ गते भएको भुटानविरुद्धको खेलमा लेफ्ट ब्याक हीराकुमारी भुजेल र मिडफिल्डर दीपा शाही घाइते भएका थिए।
उनीहरू दुवैलाई एसिएलको चोट लागेको थियो। त्यसैले उनीहरूले च्याम्पियनसिपका बाँकी खेल गुमाएका थिए। उनीहरूको शल्यक्रिया भइसकेको छ र कम्तीमा ९ महिना मैदान बाहिर रहने छन्। खेलाडी घाइते हुँदा अध्यक्ष नेम्वाङ विदेश भ्रमणमा थिए। तर, साफ फाइनलअघि भने उनी नेपाल फर्किसकेका थिए। फाइनल खेल कार्तिक १४ गते भएको थियो।
फाइनल खेल सकिएसँगै तिहार मनाउन सरकारी बिदा भएको कारण एन्फा कम्प्लेक्स पनि बन्द थियो। तर, उनी तीन दिन आराम गरेर शनिबार मात्रै घाइते खेलाडीलाई भेट्न बी एन्ड बी हस्पिटलमा पुगेका हुन्।
एन्फाले उक्त कुरा सामाजिक सञ्जालमा जानकारी दिए पनि भेटमा अध्यक्ष नेम्वाङ र खेलाडीबीच के संवाद भयो भन्ने खुलाएको छैन।





-1778235936203.webp&w=3840&q=75)






-1778148743099.webp&w=3840&q=75)