एजेन्सी । विश्वकप फुटबल अन्तर्गत आज पहिलो खेलमा इंग्ल्यान्ड र पानामाबीच खेल हुँदैछ ।
आज दुवै टोलीको लक्ष्य हुनेछ, जित । यस्तोमा इंग्ल्यान्डले मार्कुस राष्फोर्डलाई मुख्य हतियार बनाउने छ । युवा खेलाडी राष्फोर्ड निकै तीव्र गतिमा खेल्ने गर्छन । उनको पेसलाई रोक्न जो कोहि डिफेन्सले धान्न सक्दैनन् ।
तर, पानामाले राष्फोर्डको पेसलाई रोक्न रोमन टोरेसलाई खडा गर्ने छन् । निकै अनुभवी खेलाडी टोरेसले राष्फोर्डको पेस मात्र हैन पुरै इन्ग्लिश फरवार्डलाई रोक्न सक्ने छन् । पानामा आज इंग्ल्यान्डबिरुद्ध अंक खोस्न मुख्य त् टोरेसलाई ढालको रुपमा प्रयोग गर्ने छन् ।
मार्कुस राष्फोर्ड (इंग्ल्यान्ड)
इन्ग्लिश टोलीमा पछिल्लो पुस्तामा देखिएका राम्रो स्ट्राइकर हुन्, मार्कुस राष्फोर्ड । टोलीको महत्वपूर्ण सदस्य भईसकेका राष्फोर्डलाई इंग्ल्याण्डले आज पानामाविरुद्ध मुख्य खेलाडीको रुपमा मैदान उतार्ने छ ।
म्यानचेस्टर युनाइटेडको राष्फोर्ड पहिलो खेलमा दोस्रो हाफमा मैदान पसेका थिए । तर, पानामाविरुद्ध राष्फोर्ड पहिलो रोजाईमा हुने छन् । लामा सट र गोल गर्न माहिर राष्फोर्ड निकै छिटो र छरिता खेलाडी हुन् । बल पाएपछि उनको पेसलाई रोक्न डिफेन्सलाई निकै गाह्रो पर्ने गर्छ । त्यसैले पानामाका खेलाडीलाई उनले आफ्नो काबुमा राख्न सक्नेछन् ।
राष्फोर्डले यो सिजन प्रिमियर लिगमा ३५ खेल खेल्दै ७ गोल गरेका थिए । यस्तै ५ गोलको अवसर जुटाएका थिए । युरोपको प्रतिष्ठित लिग च्याम्पियन लिगमा ८ खेलमा ३ गोल गरेका थिए । राष्फोर्डले विश्वकप छनोट खेलमा ८ खेल खेल्दै १ गोल गरेका थिए ।
रोमन टोरेस (पानामा )
इन्ग्लिश फरवार्डको आक्रमणलाई रोक्न पानामाले रोमन टोरेसलाई मुख्य खम्बा बनाउने छन् । सेन्टर ब्याक टोरेस पानामाकै अनुभवी खेलाडी हुन् । त्यसैले इन्ग्लिश टोलीविरुद्ध पानामाका टोरेस विशेष भुमिकामा देखिने छन् ।
पहिलो खेलमा पुरै खेल खेलेका टोरेसले आज ह्यारी केन र मार्कुस राष्फोर्ड जस्ता खेलाडीलाई रोक्नु चुनौती हुनेछ । टोरेस अमेरिकामा ब्यवसायीक फुटबल खेल्ने गर्छन् । सिएटल साउन्डर क्लबबाट खेल्ने यी ३२ वर्षिय भेट्रान खेलाडीले मेजर सकर लिगमा यो सिजन ५ खेल खेलिसकेका छन् । विश्वकप छनोट खेलमा ८ खेल खेलेका उनले २ गोल पनि गर्न भ्याएका थिए ।