काठमाडौं । राष्ट्रिय टिमका पूर्वकप्तान पवन अग्रवालले टेस्ट टिमहरू अनुभवी र माथिल्लो स्तरको क्रिकेट खेल्ने भए पनि नेपालले श्रीलंकालाई दबाबमा राखेर खेल जित्न सक्ने बताएका छन् । नेपालले टी–२० विश्वकप २०२४ को दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध फ्लोरिडामा खेल्दैछ ।
‘तयारी भइसक्यो, यो खेल प्रदर्शन गर्ने बेला हो,’ खेलबाट सन्न्यास लिएपछि बैंकर्स बनेका पूर्वकप्तान अग्रवालले भने, ‘पछिल्ला प्रदर्शनका हिसाबले श्रीलंका धेरै राम्रो लयमा देखिएको छैन । हामीले आफ्नो खेलको स्तर र पहिलो खेलको स्तर र गल्तीमा सुधार गर्नसक्यौं भने यो प्रतिस्पर्धात्मक खेल (श्रीलंकाविरुद्ध) हुनेछ । यो एउटा अवसर हो, जहाँ हामीले श्रीलंकालाई दबाबमा राखेर जित निकाल्नसक्छौं ।’
नेपालले डालासमा भएको पहिलो खेलमा एसोसिएट टिम नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो । डालासमै श्रीलंकालाई बंगलादेशले २ विकेटले पराजित गरेको थियो । त्यसैले दुवै टिमलाई सुपर एट प्रवेशको सम्भावना कायमै राख्न पनि फ्लोरिडाको प्रतिस्पर्धा जित्नै पर्ने आवश्यकता छ । नेपाली टिम श्रीलंकाविरुद्ध खेलेपछि वेस्ट इन्डिज प्रस्थान गर्नेछ, जहाँ दुई टेस्ट टिम दक्षिण अफ्रिका र बंगलादेशको सामना गर्नेछ ।
आईसीसीको एसोसिएट टिम नेपालले टेस्ट टिमविरुद्ध जित हासिल गर्न सक्ला ? ‘श्रीलंका, बंगलादेश, साउथ अफ्रिका एकदमै राम्रो क्रिकेट खेल्छ,’ अग्रवालले भने, ‘उसका खेलाडीहरू अनुभवी छन् । त्यो स्तरमा प्रतिस्पर्धा गर्न हामीले एकदमै राम्रो गर्नुपर्छ । त्यसमा जित्ने सोचका साथ परिस्थितिलाई अवलम्बन गर्नुपर्छ । नेदरल्यान्ड्ससँग हामीले गरेको गल्ती दोहोर्याउनु हुँदैन ।’
ठूला टिमविरुद्ध प्रतिस्पर्धा गर्ने विरलै अवसर पाएको विश्वकपमा नेपाली खेलाडी दबाब झेल्न सक्ने क्षमताका छन् त ? ‘हामीले राम्रो टिमहरूसँग लगातार खेलिरहेका छौं । कठिन अवस्थामा पनि जित निकालेर प्रमाणित गरेका छौं,’ पूर्वकप्तान अग्रवालले भने, ‘युवा टिम छ, सिक्दै जाने हो । पहिलाभन्दा अहिले राम्रो भएको छ । जति खेल्दै जानेछौं, त्यति राम्रो हुँदै जान्छ । वर्ल्डकपमा त्यति सजिलो छैन, दबाब अलि बढी नै हुन्छ । अपेक्षा बढी हुँदा खेलाडीमा दबाब बढाउँछ । हाम्रा खेलाडीले नेदरल्यान्ड्सविरुद्ध दबाब धेरै लिएजस्तो लागेन र त्यसमा ‘कन्डिसन’ लाई राम्ररी अध्ययन गर्न सकेन कि भन्ने लाग्छ ।’
पूरा वार्ता हेर्न