काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी ट्वान्टी सिरिज निकै रोमाञ्चक मोडमा पुगेको छ । सिरिजको फाइनल पुग्ने टोलीको टुङ्गो लिग चरणको अन्तिम खेलबाट मात्र लाग्ने भएको छ ।
शनिबार नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै फाइनल पुग्ने सबै टिमको विकल्पलाई खुल्ला गरिदिएको हो । नेदरल्याण्ड्सविरुद्ध प्राप्त जितले नेपाल फाइनलको निकै नजिक पुगेको छ । तर यसको निर्क्योल आईतबार नामिबिया र नेदरल्याण्ड्सबीच हुने खेलको नतिजाबाट मात्र हुनेछ ।
सिरिजको सुरुवाती दुई खेलमा हार ब्यहोरेपछि नेपाल कठिन अवस्थामा पुगेको थियो । तर लिग चरणका पछिल्ला दुई खेलमा जित निकाल्दै नेपालले सिरिजमा उत्कृष्ट कमब्याक गरेको हो ।
नेपालले लिग चरणबाट ४ खेलमा २ जित निकाल्दै ४ अंक जोडेको छ । शीर्ष स्थानको नेदरल्याण्ड्सले पनि ४ अंक जोडेको छ तर उसले नेपाल भन्दा एक खेल कम खेलेको छ । नेपाल भन्दा एक खेल कम खेलेको नामिबिया भने २ अंक सहित तालिकाको पुछारमा छ ।
आईतबार नामिबियालाई नेदरल्याण्ड्सले हराएको खण्डमा नेपाल सजिलै फाइनल पुग्नेछ । तर नामिबियाले नेदरल्याण्डलाई हराउने अन्तरमा बाँकी टिमको निर्क्योल हुनेछ । तर फाइनल पुग्न नेदरल्याण्डविरुद्ध नामिबियालाई ठुलो जितको आवश्यकता पर्नेछ । फाइनल पुग्ने समिकरण धेरै हदसम्म नेट रनरेटका आधारमा हुने देखिएको छ ।