काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई हराएको छ ।
शनिबार कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको हो ।
नेदरल्याण्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५ दशमलव २ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा रोहित पौडेल र गुलसन झाले शानदार ब्याटिङ्ग प्रर्दशन गरे । कप्तान रोहितले ४६ रन बनाउँदा गुलसनले ३८ रनको योगदान गरे ।
ओपनर कुशल भुर्तेल १२ र आसिफ शेख ८ रनमा आउट भएपछि नेपालको इनिङ्स कप्तान रोहित र गुलसनले सम्हालेका थिए । दीपेन्द्र सिंह ऐरी ४ र कुशल मल्ल २ रनमा अविजित रहे ।
डच टोलीका विलियन किंग्माले ३ तथा आर्यन दत्तले १ विकेट हात पारे ।
यसअघि, पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३ बल बाँकी छदै १ सय २० रनमा अलआउट भएको थियो । प्रतिस जिसी, करन केसी, कुशल मल्ल चम्किएको खेलमा नेदरल्याण्ड्स सस्तैमा समेटिएको हो ।
प्रतिसले ३ तथा करन र कुशलले समान २ विकेट लिएका थिए । दीपेन्द्र सिंह ऐरीको नाममा एक विकेट रह्यो ।
नेदरल्याण्ड्सका मेक्स ओडाडले बनाएको ३१ रन ब्यक्तिगत सर्वाधिक स्कोर रह्यो । नेदरल्याण्ड्सका रुलोफ वान डेरले अविजित २३ तथा टिम वान डेरले २४ रन बनाए । अन्यको प्रर्दशन खासै उल्लेख्य रहन सकेन ।
नेदरल्याण्ड्सले ६० रन बनाउन महत्वपुर्ण ६ विकेट गुमाएको थियो ।
करनले पहिलो ओभरमै दुई विकेट लिदै नेपाललाई शानदार सुरुवात दिलाएका थिए । करनले माइकल लेविट र साइब्रान्ड एनगेलब्रेक्टलाई आउट गरेका थिए ।
त्यसपछि ठुलो स्कोरतर्फ अघि बढेका मेम्स ओडाड र स्काट एडवर्ड्सलाई बोल्ड गर्दै प्रतिसले खेल नियन्त्रणमा लिएका थिए । उनले तेजा निदामानुरुलाई समेत बोल्ड गरे ।
त्यसपछि बलिङमा आएका अलराउण्डर कुशल मल्लले आर्यन दत्त र नुह क्रोसलाई आउट गरेपछि नेपालले नेदरल्याण्ड्सका मुख्य ब्याट्सम्यानलाई आउट गरेको हो ।
दीपेन्द्रले टिम वार डेनलाई सोमपाल कामीको हातबाट क्याच आउट गराउँदा पुछारका विवियन किंग्मा र काइल क्लेन रनआउट हुन पुगेका थिए ।
नेपालले जित सहित फाइनल पुग्ने त्रिपक्षीय भिडन्तलाई खुल्ला गरेको छ । नेदरल्याण्ड्स र नेपालले समान ४ अंक बटुलेका छन् । नामिबिया २ अंक सहित पुछारमा छ । लिग चरणको अन्तिम खेलमा नामिबिया र नेदरल्याण्ड्स भिड्नेछन् ।