काठमाडौं । काठमाडौंको पेप्सीकोलामा रहेको नेक्सस क्रिकेट एकेडेमीले यस बर्ष एसईई दिने २ सय क्रिकेट खेलाडीलाई २० दिने निशुल्क क्रिकेट क्याम्प आयोजना गर्ने भएको छ ।
ग्रासरूट क्रिकेट बिकासमा कोशेढुङगा साबित एसईई क्याम्पलाई निरन्तरता दिदै नेक्ससले एसईई क्याम्पको पाँचौ संस्करण चैत्र २८ गतेदेखि बैशाख १८ गते सम्म मुलपानी क्रिकेट रंगशाला र एकेडेमीको प्राङ्गणमा संचालन गर्न लागेको हो ।
क्याम्पमा सहभागी हुन खेलाडीले अनलाइन फारम भर्नु पर्ने छ । फारम भर्ने पहिलो २ सय जनालाई क्याम्पमा सहभागी गराईने नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ ।
क्याम्पमा सहभागी खेलाडीलाई पाकिस्तानका पहिलो श्रेणीका खेलाडी रहिसकेका पाकिस्तान क्रिकेट बोर्डबाट लेभल वान गरेका प्रशिक्षक ईम्तिहाज हुसेन र वरिष्ठ नेपाली प्रशिक्षकले ट्रेनिङ दिनेछन् । हरेक खेलाडीलाई १० खेल खेल्ने अवसर प्रदान गरिने नेक्ससका अध्यक्ष भरत कुमार शाहीले जानकारी दिए ।
एसईई क्याम्प क्रिकेटका नवप्रतिभाको खोजी गरि नेपाली क्रिकेटलाई अब्बल खेलाडी सुम्पिने महत्वपूर्ण अभियान रहेको बताउँदै शाहीले एसईई क्याम्पबाटै नेपालको अन्डर १९ टिमका महत्वपूर्ण खेलाडी उत्तम थापा मगर र अन्डर १६ टिमका अशोक धामी लगायतका दर्जन खेलाडी जन्मिएको बताए ।
पूर्ण रुपमा निशुल्क संचालन हुने क्याम्पलाई सफल पार्न सहयोगका लागि सरोकारवाला सबैमा अपिल गरिएको अध्यक्ष शाहीले बताएका छन् ।
