काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा स्पोर्टिङ ईलामले जित हासिल गरेको छ ।
सोमबार भएको पूर्वेली डर्बीमा ईलामले झापा एफसीलाई हराएको हो ।
निकै रोमाञ्चक खेलमा ईलामले झापालाई १–० गोल अन्तरले पराजित गर्यो ।
ईलामका लागि अमथ एन्डोले खेल सकिन तीन मिनेट अघि विजयी गोल गरे ।
अमथले डिबक्सभित्रबाट प्रहार गरेको बल झापाका गोलकिपर स्टिफनले रोकेका थिए । सोही रिबाउन्ड बलमा अमथले गोल गर्दै ईलामलाई जित दिलाएका हुन् ।
उनै अमथले खेलको ८४ औं मिनेटमा प्राप्त पेनाल्टीमा असफल प्रहार गरेका थिए । भरत खवासलाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा अमथको प्रहार आकासिएको थियो ।
पहिलो खेल साविक विजेता काठमाडौं रेजर्ससँग गुमाएको ईलामले दोस्रो खेलमा निकै सुधारिएको प्र्रर्दशन गरेको थियो । खेल अवधिभर अमथको गोलको प्रयास लोभलाग्दो रह्यो ।
उनको निरन्तरका प्रयासलाई झापाका विदेशी गोलकिपर स्टिफनले असफल बनाएका थिए ।
झापाविरुद्ध ईलामका गोलकिपर विकेश कुथुले अझ प्रभावशाली प्रर्दशन गरे । उनले झापाका सबै आक्रमणलाई निस्तेज पारे । पहिलो खेलमा गरेको गल्तीलाई सच्चाउँदै दोस्रो खेलमा जित दिलाउन उनको मुख्य योगदान रह्यो ।
खेलको अन्तिम समयमा विकेशले डिबक्समा रहेका अन्जन विष्टको उत्कृष्ट हेड प्रहारलाई दायाँ हातले रोक्दै असफल बनाएका थिए ।
एनएसएलको निकै बलियो मानिएको झापाले हार सहित सिजनको सुरुवात गरेको छ । उसले नवप्रवेशी क्लबको रुपमा एनएसएलमा सहभागी भएको हो ।
ईलामले दुई खेलबाट ३ अंक जोडेको छ भने झापा अंक जोड्न असफल भएको छ ।