विश्वकपमा छनोट हुन नेदरल्यान्ड्सलाई २७८ रनको लक्ष्य

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्सको आठौं खेलमा नेदरल्यान्ड्सलाई स्कटल्यान्डले जितका लागि २ सय ७८ रनको लक्ष्य दिएको छ ।
बुलवायोमा रहेको क्विन्स स्पोर्टस् क्लबमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रन बनायो ।
स्कटल्यान्डका लागि ब्रेन्डम म्याकमुलनले १ सय १० बलमा ११ चौका र ३ छक्काको सहयोगमा १ सय ६ रन बनाए । ओडिआई करियर दोस्रो शतक म्याकमुलनले १ सय ६ बलमा पूरा गरेका थिए ।
कप्तान रिचि बेरिंग्टनले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । टोमस म्याकिन्टोसले २८ बलमा ५ चौकाको सहयोगमा अविजित ३८ रन बनाए ।
ओपनर क्रिस्टोफर म्याकब्रिडले ३८ बलमा ६ चौकाको सहयोगमा ३२ रन बनाए । क्रिस ग्रेभ्सले १५ बलमा १८ रन बनाए।
नेदरल्यान्ड्सका लागि बास डि लिडले १० ओभरमा ५२ रन खर्चिएर ५ विकेट लिए । रायन क्लायनले २ तथा लगेन भान बिकले १ विकेट लिए ।
नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको आजको खेलबाट विश्वकपमा छनोट हुने दोस्रो टोलीको टुंगो लाग्नेछ ।
श्रीलंकाले यस अघि नै विश्वकपमा स्थान बनाई सकेको छ ।
विश्वकपमा स्थान बनाउन स्कटल्यान्डलाई जित पर्याप्त हुनेछ । तर, नेदरल्यान्ड्सले भने फराकिलो जित हात पार्नु पर्ने हुन्छ।
दुवै टोली एकअर्कालाई पराजित गरि विश्वकपमा स्थान बनाउने सोचमा रहेका छन् ।















-1775795080923.webp&w=3840&q=75)