काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा नेदरल्यान्ड्सले ओमानलाई पराजित गरेको छ ।
जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लबमा ओमानमाथि डिएलस मेथडमा ७४ रनको जित सहित नेदरल्यान्ड्सले विश्वकप छनोटको सम्भावना कायमै राखेको छ । वर्षाका कारण खेल ढिला सुरु हुँदा ओभर घटाईएको थियो । दुवै टोलीले ४८/४८ ओभरको खेल खेलेका थिए ।
नेदरल्यान्ड्सले दिएको ३ सय ६३ रनको लक्ष्य पछ्याएको ओमानले ४४ ओभरमा ६ वकेट गुमाएर २ सय ४६ रन बनाएको अवस्था खराब मौसमका कारण खेल रोकएको थियो ।
ओमानका लागि आयान खानले ९२ बलमा ११ चौका र २ छक्काको सहयोगमा अविजित १ सय ५ रनको शतकीय ईनिङ खेले । ओडिआई करियरको पहिलो शतक आयानले ८४ बलमा पूरा गरेका थिए ।
ओमानको सुरुआत राम्रो रहन सकेन । ओमानका ओपनर कश्यप प्रजापती ३२ बलमा ४ चौकाको सहयोगमा २५ रनमा आउट भए । अर्का ओपनर जतिन्दर सिंहले २४ बलमा १७ रन बनाए ।
पाचौं विकेटका लागि आयान खान र सोयव खानले १ सय ७ बलमा १ सय १२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सोयब खान आर्यान दत्तको बलमा आउट भएसँगै यो साझेदारी तोडिएको थियो । सोयवले ६१ बलमा ५ चौकाको सहयोगमा ४६ रन बनाएका थिए ।
त्यसपछि कुनै खेलाडीको बीचमा पनि उल्लेखनिय साझेदारी बन्न सकेन । नेदरल्यान्ड्सका लागि आर्यान दत्तले ३ तथा रायन क्लिनले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ४८ ओभरमा ७ विकेट गुमाएर ३ सय ६२ रन बनायो ।
नेदरल्यान्ड्सका लागि ओपनर विक्रमजित सिंहले १ सय ९ बलमा ११ चौका र २ छक्काको सहयोगमा १ सय १० रन बनाए ।
नेदरल्यान्ड्सका लागि ओपनरद्वय सिंह र म्याक्स ओ डाउडले १ सय ३२ बलमा १ सय १७ रनको साझेदारीका साथ उत्कृष्ट सुरुआत दिलाए । म्याक्सले ६४ बलमा १ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।
चौथो विकेटका लागि बास डि लिड र वेस्ले बेरेसीले २७ बलमा ५५ रनको सानदार साझेदारी गरे । बास डि लिडले १९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए ।
पाँचौ विकेटका लागि वेस्ले बेरेसी र सकिव जुल्फिकरले २६ बलमा ५७ रनको साझेदारी गर्दै टोलीलाई विशाल योगफल तर्फ लिएर गए ।
वेस्ले बेरेसी ६५ बलमा १० चौका र ३ छक्काको सहयोगमा ९७ रनको अर्धशतकीय ईनिङ खेले । बेरेसी बिलाल खानको बलमा आउट भए ।
जुल्फिकर मोहम्मद नदिमको बलमा आउट हुनु अघि ३३ रन बनाए ।
ओमानका लागि बिलाल खानले ३ तथा मोहम्मद नदिमले २ विकेट लिए । फैजल बट र आयान खानले समान १/१ विकेट लिए ।
जितसँगै नेदरल्यान्ड्सले एकदिवसीय विश्वकप छनोटको सम्भावना कायमै राखेको छ । नेदरल्यान्ड्स विश्वकपमा छनोट हुनका लागि मंगलबारको खेलमा स्कटल्यान्डले घरेलु टोलीलाई पराजित गर्नु पर्ने हुन्छ ।
बिहीबार रहेको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउनु पर्ने हुन्छ ।
पराजित ओमानको भने सुपर सिक्समा यो लगातार दोस्रो हार हो । ओमान पहिलो हारसँगै छनोटको सम्भावनाबाट बाहिरी सकेको छ ।
ओमान र वेस्ट इन्डिज विश्वकप छनोटको दौडबाट बाहिरिसकेका छन् । श्रीलंका भने एक खेल अगावै विश्वकपमा स्थान बनाउन सफल भएको छ ।
विश्वकप छनोटका लागि एक स्थान बाँकी रहँदा जिम्बावे, स्कटल्यान्ड र नेदरल्यान्ड्स दौडमा रहेका छन् ।