काठमाडौं । मलेसियामा जारी एसीसी यू-१६ ईस्ट जोन कपको सेमिफाइनलमा खेलमा सिंगापुरविरुद्ध नेपालले मध्यम बलिङ सुरुआत गरेको छ ।
सिंगापुरले १० ओभरमा १ विकेट गुमाएर ४५ रन बनाएको छ ।
नेपालका लागि पहिलो ओभरको अन्तिम बलमा कप्तान अभिषेक तिवारीले पहिलो विकेट लिएका थिए । तिवारीले सिंगापुरका श्रीयनलाई आउट गरेका थिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।
नेपालका ओपनर सुर्यांशु कोईरालाले ४९ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४३ रन बनाए । नेपाललाई ओपनर कोइराला र निरज यादवले पहिलो विकेटका लागि ७० बलमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरेका थिए ।
सूर्यांशु हर्ष वेंकटरामको बलमा रियान नैकबाट क्याच आउट हुन पुगे । निरजले भने ४९ बलमा ३ चौकाको सहयोगमा ४२ रन बनाए ।
पहिलो विकेट गुमाए पछि कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् । विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे । नरेन भट्ट तीन रनमा हरिहरनको बलमा कट एण्ड बोल्ड आउट भए ।
कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा २ चौकासहित १८ तथा प्रतिक भट्टराई १२ डक आउट भए । दीपु कुमार १२ तथा कृतिक कामत ५ रनमा आउट भए ।
सिंगापुरका हरिहरनले ३ तथा हर्ष वेंकटराम र कबिर समान २/२ विकेट लिए ।