काठमाडौं । पहिलो र दोस्रो संस्करणको आइसीसी एकदिवसीय विश्वकपको च्याम्पियन टोली विश्वकप छनोटबाट बाहिरिएको छ ।
हरारेमा भएको खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित हुदै वेस्ट इन्डिज बाहिरिएको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
स्कटल्यान्डको जितमा म्याथ्यु क्रसले १ सय ७ बलमा ७ चौकासहित ७४ रनमा अविजित रहे । कप्तान रिची बेरिंग्टन १४ बलमा २ चौकासहित १३ रनमा अविजित रहे ।
ब्रेन्डन म्याकमुलेन १ सय ६ बलमा ८ चौका र १ छक्कासहित ६९ रनमा आउट भए ।
ओपनर क्रिस म्याक ब्राइड शून्यमै ईनिङको पहिलो बलमा नै आउट भएका थिए । तर दोस्रो विकेटका लागि म्याकमुलेन र क्रसले १ सय २५ रनको शतकीय साझेदारी गरेपछि वेस्ट इन्डिजको जितको सम्भावना समाप्त भएको थियो ।
जर्ज मुन्शे ३३ बलमा १ चौकासहित १८ रनमा आउट भए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको हो।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले ७९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए । ८१ रनमा ६ विकेट गुमाई सकेको अवस्थामा होल्डर र रोमारियो शेर्फडले ९६ बलमा ७७ रनको महत्वपूर्ण साझेदारी गरेर टोलीलाई मध्यम योगफसम्म पुर्याउन मद्दत गरे ।
शेफर्डले ४३ बलमा ५ चौकाको सहयोगमा ३६ रन बनाए । ओपनर ब्रान्डन किंगले २२ बलमा ५ चौकाको सहयोगमा २२ रन बनाए । निकोलस पुरनले ४३ बलमा २१ रन बनाए ।
कप्तान शाई होपले १३ रन तथा केभिन सेनक्लियरले १० बनाए । वेस्ट इन्डिजका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन समेत सकेनन् ।
स्कटल्यान्डका लागि ब्रान्डम म्याकमुलनले ३ तथा क्रिस ग्रेभ, क्रिस सोल र मार्क वाटले समान २/२ विकेट लिए । सफियान सरिफले १ विकेट लिए ।
पराजित भएसँगै वेस्ट इन्डिज सुपर सिक्सबाट बाहिरिने दोस्रो टोली बन्ने छ । यस अघि ओमान सुपर सिक्सबाट बाहिरिने पहिलो टोली बनिसकेको छ ।
वेस्ट इन्डिज पहिलो पटक विश्वकपबाट बाहिरिएको हो ।