काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिज स्कटल्यान्डविरुद्ध १ सय ८१ रनमा अलआउट भएको छ ।
हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको हो ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले ७९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए । ८१ रनमा ६ विकेट गुमाई सकेको अवस्थामा होल्डर र रोमारियो शेर्फडले ९६ बलमा ७७ रनको महत्वपूर्ण साझेदारी गरेर टोलीलाई मध्यम योगफसम्म पुर्याउन मद्दत गरे ।
शेफर्डले ४३ बलमा ५ चौकाको सहयोगमा ३६ रन बनाए । ओपनर ब्रान्डन किंगले २२ बलमा ५ चौकाको सहयोगमा २२ रन बनाए । निकोलस पुरनले ४३ बलमा २१ रन बनाए ।
कप्तान शाई होपले १३ रन तथा केभिन सेनक्लियरले १० बनाए । वेस्ट इन्डिजका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन समेत सकेनन् ।
स्कटल्यान्डका लागि ब्रान्डम म्याकमुलनले ३ तथा क्रिस ग्रेभ, क्रिस सोल र मार्क वाटले समान २/२ विकेट लिए । सफियान सरिफले १ विकेट लिए ।
वेस्ट इन्डिज नेपाल रहेको समूह ए मा तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । स्कटल्यान्ड भने समूह बी को दोस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको हो ।
सुपर सिक्समा पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ सुरुआत गर्न चाहन्छन् । वेस्ट इन्डिजलाई विश्वकपमा छनोट हुनका लागि आजको खेल जित्नै पर्ने हुन्छ ।
आजको खेलमा पराजित भएमा वेस्ट इन्डिज सुपर सिक्सबाट बाहिरिने दोस्रो टोली बन्ने छ । यस अघि ओमान सुपर सिक्सबाट बाहिरिने पहिलो टोली बनिसकेको छ ।
स्कटल्यान्ड पनि वेस्ट इन्डिजलाई पराजित गरि विश्वकप छनोटको सम्भावना कायमै राख्न चाहन्छ ।