काठमाडौं । मलेसियामा जारी एसीसी यू-१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध नेपालले उत्कृष्ट बलिङ सुरुआत गरेको छ ।
मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले थाईल्यान्डलाई २ सय ७० रन बनाएको लक्ष्य दिएको छ ।
नेपालले १० ओभरको बलिङ सक्दा ४० रन खर्चिएर ५ विकेट हात पारेको छ । नेपालका लागि कप्तान अभिसेक तिवारी र अशोक धामीले समान २२ तथा सन्तोष यादवले १ विकेट लिए ।
नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।
नेपालका लागि निरज कुमार यादव र नरेन भट्टले अर्धशतकीय ईनिङ खेले । यादवले ४३ बलमा सर्वाधिक ७४ रनमा बनाए ।
नेपाललाई ओपनरद्वय यादव र सुर्यांशु कोइरालाले १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । सुर्यांशुले ५५ बलमा ४० रनमा आउट भए ।
नरेन भट्ट ४३ बलमा ५ चौकासहित ५५ रनमा अविजित रहे । सन्तोष यादव ३६ बलमा ४२ रनमा आउट भए ।
थाईल्यान्डका निटपाखन मनुवुन, ईशान बानेर्जी र पनुवातले समान २/२ विकेट लिए तथा जित साद र पियावत नोद्रीले १ विकेट लिए ।
समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् । समूह ए को खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो ।
थाईल्यान्ड पहिलो खेलमै पराजित भएको हुँदा नेपाल पहिलो जित निकालेको खण्डमा सेमिफाइनलमा पुग्नेछ ।
नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल ३ जुलाई र फाइनल ४ जुलाईमा हुनेछ ।