काठमाडौं । श्रीलंका जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटमा अपराजित रुपमा सुपर सिक्समा प्रवेश गरेको छ ।
बुलाबायोमा रहेको क्विन्स स्पोर्ट्स पार्कमा श्रीलंकाले स्कटल्यान्डलाई ८२ रनले पराजित गरेको हो ।
श्रीलंकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड २९ ओभरमा १ सय ६३ रन बनाउँदै अलआउट भयो ।
स्कटल्यान्डका लागि क्रिस ग्रभ्सले ४१ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । उसका ओपनर क्रिस्टोफर म्याकब्रिडले ३८ बलमा २९ रन बनाए ।
१४ रनमा पहिलो विकेट गुमाएको स्कटल्यान्डका लागि कुनै पनि विकेटका लागि सम्झनयोग्य साझेदारी भएन । तर, नवौं विकेटका लागि ग्रेभ्स र क्रिस सोलले ५५ रनको साझेदारी गरे ।
क्रिस सोलले २१ बलमा १७ रन तथा मार्क वाटले १४ रन बनाए । कप्तान रिचि बेरिंग्टन १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
श्रीलंकाका लागि महेश थिक्सनाले ३ तथा वानिन्दु हसरंगाले २ विकेट लिए । कुसन रन्जिथा, लाहिरु कुमारा र कप्तान दाशुन शनकाले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंका ४९ दशमलब ३ ओभरमा २ सय ४५ रनमा अलआउट भएको थियो।
श्रीलंकाका ओपनर पाथुुम निसांकाले ८५ बलमा १० चौकासहित सर्वाधिक ७५ रनको अर्धशतकीय ईनिङ खेले । चरिथ असलंका ६५ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा आउट भए ।
सदिरा समाराविक्रमा ३५ बलमा ४ चौकासहित २६ तथा धनन्जय डि सिल्भा २३ रनमा आउट भए । वानिन्दु हसरंगाले १५ र महेश थिक्सेनाले १६ रन बनाए ।
स्कटल्यान्डका लागि क्रिस ग्रेभ्सले ४ तथा मार्क वाटले ३ विकेट लिए । क्रिस सोलले २ विकेट लिए ।
जितसँगै समूह बी बाट अपराजित रहँदै श्रीलंका सुपर सिक्समा पुगेको छ ।
हारका बाबजुद पनि स्कटल्यान्ड समुहको दोस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको छ । श्रीलंका अतिरिक्त ४ अंक र स्कटल्यान्ड २ अंकका साथ सुपर सिक्समा पुगेका छन् ।
समूह ए बाट जिम्बावे, नेदरल्यान्ड्स र वेस्ट इन्डिजले सुपर सिक्समा स्थान बनाईसकेका छन् ।