काठमाडौं । ओपनर दिमुथ करुणारत्नेको सानदार शतकको सहयोगमा श्रीलंकाले आयरल्यान्डलाई ३ सय २६ रनको लक्ष्य दिएको छ ।
हरारेमा रहेको क्विन्स स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ४९ दशमलब ५ ओभरमा ३ सय २५ रनमा अलआउट भयो ।
श्रीलंकाका लागि दिमुथ करुणारत्नेले १ सय ३ बलमा ८ चौकाको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ खेले । ओडिआई करियरको पहिलो शतक करुणारत्नेले १ सय बलमा पूरा गरे ।
तेस्रो विकेटका लागि करुणारत्नेले सदिरा समराविक्रमासँग १ सय ५९ बलमा १ सय ६८ रनको शतकीय साझेदारी गरे । समराविक्रमाले ८६ बलमा ४ चौकाको सहयोगमा ८२ रनको अर्धशतकीय ईनिङ खेले ।
धनन्जय डि सिल्भा ४२ रनमा अविजित रहँदा चरिथ असलंकाले ३८ रन बनाए । पथुम निशंकाले २० रन बनाउँदा श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आयरल्यान्डका लागि मार्क अडिरले ४ तथा ब्यारी म्याकार्थीले ३ विकेट लिए । आयरल्यान्ड आजको खेलमा पराजित भए प्रतियोगिताबाट बाहिरिने छ ।