काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले मध्यम ब्याटिङको सुरुआत गरेको छ।
वेस्ट इन्डिजविरुद्ध ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ६५ रन बनाएको छ ।
नेपालका कप्तान रोहित पौडेल र आरिफ शेख क्रिजमा रहेका छन् ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । तीव्र गतिका बलर अल्जारी जोशेफको दोस्रो ओभरको चौथो बलमा ओपनर भुर्तेल ५ रनमा बोल्ड आउट भए ।
जेसन होल्डरले पाँचौं ओभरको दोस्रो बलमा भीम सार्कीलाई विकेटकिपर शाई होपबाट क्याच आउट गराए । तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेख किमो पलको बलमा आउट भएका थिए ।
त्यसअघि हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो ।
वेस्ट इन्डिजका कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रनमा आउट भए । निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भए ।
एक समय वेस्ट इन्डिज १५ दशमलब ३ ओभरमा ५५ रन बनाएर ३ विकेट गुमाएको अवस्थामा थियो । तर, चौथो विकेटका लागि पुरन र होपले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए ।