काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटको वेस्टइन्डिजविरुद्धको खेलमा नेपाल १ सय २० बल देखि विकेट बिहीन रहेको छ ।
नेपालले १५ दशमलब ३ ओभरमा पछिल्लो विकेट लिएको थियो । तर, त्यसपछि १ सय २० बलमा नेपालले कुनै विकेट लिन सकेको छैन । वेस्ट इन्डिजले अहिले ३६ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको छ । क्रिजमा अहिले कप्तान शाई होप र निकोलस पुरन रहेका छन् ।
कप्तान होप ९८ बलमा ७ चौका र १ छक्कासहित ८५ रनमा अविजित रहेका छन् । उनलाई निकोलस पुरनले ६३ बलमा ५ चौका र ४ छक्कासहित ७५ रनमा साथ दिएका छन् । चौथो विकेटका लागि पुरन र होपले १ सय ४१ रनको शतकीय साझेदारी गरि सकेका छन् ।
नेपालले वेस्ट इन्डिजका प्रमुख ब्याटर निकोलस पुरनलाई ब्यक्तिगत तीन रनमै जीवनदान दिएको थियो । त्यसपछि वेस्ट इन्डिजले खेलमा राम्रो पूनरागमन गरेको छ । स्पिनर ललित नारायण राजवंशीको १७ औं ओभरको अन्तिम बलमा पुरनको एज लागेको बल विकेटकिपर आसिफ शेखले छाड्न पुगेका थिए ।
नेपालले सुरुवात भने सानदार गरेको थियो । तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको तेस्रो बलमा बायाँ हाते ओपनर कायल मेयर्सको क्याच कुशल भुर्तेलले लिएका हुन् ।
युवा तीव्र गतिका बलर गुलशन झाले पाँचौं ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई शून्यमा पेभेलिएन फर्काएका थिए ।
तेस्रो विकेटका लागि शाई होप र किंगले ४६ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । नेपाली स्पिन सामु रन बनाउन संघर्ष गरेको वेस्ट इन्डिजको तेस्रो विकेट सन्दीपले लिएका थिए ।
सन्दीपले ब्रेन्डन किंगलाई ३२ रनमा बोल्ड आउट गरेका थिए । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।