काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आयरल्यान्डले स्कटल्यान्डलाई २ सय ८७ रनको लक्ष्य दिएको छ ।
हरारेमा रहेको क्विन्स स्पोर्टस् क्लबको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनायो ।
आयरल्यान्डका लागि कुर्टिस क्यामफेरले १ सय ८ बलमा ९ चौका र ४ छक्काको सहयोगमा १ सय २० रनको शतकीय ईनिङ खेले । ओडिआईमा पहिलो शतक क्यामफेरले ९९ बलमा पूरा गरेका थिए ।
आयरल्यान्डले पहिलो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो । त्यसपछि क्रिजमा आएका कुनै पनि ब्याटर क्रिजमा जम्न सकेनन् ।
७० रनमा ५ विकेट गुमाईसकेको अवस्थामा जर्ज डकरेल र कुर्टिस क्यामफेरले बलमा १ सय ५० बलमा १ सय ३६ रनको महत्वपूर्ण साझेदारी गरेसँगै टोलीले सम्मानजनक योगफल बनाउन सक्यो ।
डकरेलले ९३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय ईनिङ खेले । गारेथ डिलेनीले १४ बलमा १९ रन बनाए ।
स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलनले ५ तथा क्रिस सोल, क्रिस्टोफर म्याकब्रिड र मार्क वाटले समान १/१ विकेट लिए ।
पहिलो खेलमा ओमानसँगको हारलाई बिर्सिएर आयरल्यान्ड जितको खोजिमा रहनेछ । आयरल्यान्ड पहिलो खेलमा ओमानसँग पराजित भएको थियो ।
पहिलो खेल खेल्दै गरेको स्कटल्यान्ड जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छ ।