काठमाडौं । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रियिमर लिग (आइपीएल) २०२३ मा राजस्थान रोयल्सलाई हराउँदै प्लेअफ नजिक पुगेको छ ।
राजस्थानको घरेलु मैदानमा भएको खेलमा गुजरात ९ विकेटको फराकिलो अन्तरले विजयी भएको हो ।
राजस्थानले दिएको १ सय १९ रनको लक्ष्य गुजरातले १३ दशमलब ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
गुजरातको जितमा ओपनर ऋद्धिमान शाह ३४ बलमा ५ चौकासहित ४१ रनमा अविजित रहे ।
कप्तान हार्दिक पान्ड्या १५ बलमा ३ चौका र ३ छक्कासहित ३९ रनमा अविजित रहे । दोस्रो विकेटका लागि पान्ड्या र शाहले ४८ रनको अविजित साझेदारी गरे ।
पहिलो विकेटका लागि ओपनरद्वय शुभमन गिल र शाहले ७१ रनको साझेदारी गरेका थिए । ओपनर शुभमन गिल ३५ बलमा ६ चौकासहित ३६ रनमा आउट भए ।
राजस्थानका युजभेन्द्र चहलले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थान १७ दशमलब ५ ओभरमा १ सय १८ रनमा अल आउट भयो ।
राजस्थानका कप्तान सन्जु सामसनलले २० बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३० रन बनाए । ट्रेन्ट बोल्टले ११ बलमा १५ रन बनाउँदा ओपनर यशस्वी जैसवालले ११ बलमा १४ रन बनाए ।
देवदत्त पाडिक्कल १२ बलमा १२ रन बनाउँदा राजस्थानका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउँन सकेनन् ।
गुजरातका लागिराशिद खानले ३ तथा नुर अहमदले २ विकेट लिए । मोहम्मद शामी, हार्दिक पान्ड्या र जोशुवा लिटिलले समान १/१ विकेट लिए ।
गुजरात १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंकका साथ १० टोली सहभागी लिगको शीर्ष स्थानमा कायमै रहेको छ ।
राजस्थान रोयल्स १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंक जोड्दै चौथो स्थानमा छ ।