इटहरी । इटहरी चोकबाट करिब १ किलोमिटर दक्षिणमा छ प्रादेशिक रंगशाला । राष्ट्रिय खेलकुद परिषदको २२ करोड लगानीमा निर्माण भएको रंगशालाको क्षमता ८ हजार रहेको छ । जसमा भीआईपी प्यारापिटमा ३ हजार ४ सय र नर्मल प्यारापिटमा ४ हजार ६ सय बढी दर्शक अटाउन सक्ने क्षमता छ ।
त्यही मैदानमा १३ औं संस्करणको इटहरी गोल्डकप आयोजना भइरहेको छ । धरानलाई चिनाउने बुढासुब्बा र विराटनगरलाई रात्रीकालिन प्रतियोगिता विराट गोल्डकपले चिनाइरहँदा इटहरी गोल्डकपले दुई ठुला सहरलाई जोड्ने काम गर्न सक्छ । स्पोर्टस सिटी घोषणा भएको इटहरी कोशी स्पोर्टस करिडोरको केन्द्र बिन्दु हो ।
फुटबल जगतमा इटहरी चिनाउन केही प्रतिनिधिमुलक खेलाडीहरु नै काफि हुन्छन् । श्याम मानन्धर, सुरेन्द्र तामाङ, रितेष थापा, हेम तामाङ, प्रवेश दनुवार इटहरी फुटबलका केही खेलाडी पात्र हुन् ।
१३ औं संस्करणको गोल्डकपको दोश्रो क्वाटरफाइनलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडसँग आयोजक राष्ट्रिय जागृति क्लब पराजित बन्यो । तर, घरेलु टोलीको सुन्दर पक्षमा सबै खेलाडी स्थानीय नै थिए ।
मोफसलमा आयोजना हुने फुटबल प्रतियोगितामा आयोजक टोलीसंग आफ्नै उत्पादन हुँदैन् । तर इटहरीले विभिन्न ए डिभिजन क्लबमा रहेको आफ्नै उत्पादनलाई मैदानमा उतारेको थियो ।

‘हामीलाई बाहिरबाट खेलाडी ल्याएर खेलाउनु भन्दा आफ्नैले खेलेकोमा गर्व लाग्छ,’ प्रशिक्षक श्याम मानन्धर भन्छन्, ‘ बरु ५÷७ गोल नै व्यहोर्न किन नपरोस इटहरीबासीले आफ्नै छोरा भतिजको खेल हेर्न पाउँदा गर्व मान्ने भएकाले नै स्थानीयलाई मौका दिएका थियौ । हिजोका दिनमा बुट बोकेर खेल्न हिड्दा गाली गर्ने बाबु आमा रंगशालामा छोराको खेल हेर्न पाउँदा आनन्दित महसुस गरेका पाएका छौ ।’
अर्को तर्फ कोवितजंग कार्की, केशव कार्की, अनुरोध थापा, सञ्जिव ढुङ्गाना, सन्त बहादुर डुम्जन लगायत प्रतियोगिता आयोजक इटहरीको फुटबलका सारथी हुन् । इटहरीमा फुटबल खेलले प्रवेश कहिले पायो भन्ने यकिन मिति नभएपनि वि.स २०१५ साल आसपासको समयमा इटहरीको फुटबलले लय समातेको पाइन्छ । वि.स २०२३ सालमा सांस्कृतिक कार्यक्रमको उद्धेश्य राखेर स्थापना भएको राष्ट्रिय जागृति क्लब अहिलेको इटहरीको फुटबललाई केन्द्रिकृत गर्ने संस्था हो भन्नेमा दुईमत छैन् ।

२०५५–५६ तिर गोलरक्षक रितेष थापा सहित सुनसरीबाट विश्वन्धु पोखरेल, गणेश लिम्बु (देव्रे), गणेश लिम्बु (दाइने) र सचिन राईले एन्फा यू-१६ टोलीमा स्थान बनाएका थिए । सुरेन्द्र र रितेश, राष्ट्रिय जागृतिबाटै फुटबल खेलेर नेपालको राष्ट्रिय टोलीसम्म पुगेका हुन् । एक दशक सहिद स्मारक ए डिभिजन लिग खेलेका सुरेन्द्र ५० गोलको कोषेढुङ्गा पार गर्ने वसन्त थापापछि दोश्रो खेलाडी हुन् । उनको गोल गर्ने शैली अचम्मलाग्दो थियो । दायाँ भागबाट तीव्र गतिमा बल अघि बढाउने र साँघुरो कोणबाट पनि गोल गर्न सुरेन्द्र माहिर थिए । सुरेन्द्र भरपर्दा स्कोर रहँदै गर्दा रितेष एक समय नेपाली गोलपोष्टको बलियो खम्बा थिए । रितेश कडा मेहनती तथा टिमका भरपर्दो खेलाडी थिए । उनले आफ्नो प्रदर्शनीबाट टिमलाई सकारात्मक छाप दिन सक्दथे । सन् २००३-०७ को समयमा इटहरीका यी दुई सम्मिलित नेपालको सन्तुलित टोली थियो । दुवै खेलाडीले जुनियर र सिनियर रुपमा राष्ट्रिय जागृतिमा करिब एक दशक नै बिताए।

सुरेन्द्र इटहरीको फुटबल विकासका राष्ट्रिय जागृतिको योगदानलाई अतुलनिय मान्छन् ।
‘हाम्रो काकाहरु राष्ट्रिय जागृतिबाट फुटबल खेल्नुहुन्थ्यो दर्शकहरुको अपार माया देखेर नै हामीहरु पनि फुटबलमा आएका हौ ।’ सुरेन्द्रले भने, ‘इटहरीमा १५÷२० बर्ष अघि धेरै जसो प्रतियोगिता हुन्थ्यो तर निरन्तरता थिएन् । फुटबललाई क्रमिक रुपमा अघि बढाउने उद्धेश्यका साथ करिब १५ बर्ष अघि इटहरी गोल्डकपको परिकल्पना गरेर अघि बढेका थियो ।’
विभिन्न व्यक्तिहरुको नाम र पहिचानका आधारमा प्रतियोगिता हुँदै आएको इटहरीको आफ्नै पहिचानलाई स्थापित गर्न इटहरी गोल्डकपलाई अघि बढाइएको उनी बताउँछन् ।

११ औं संस्करणसम्म आइपुग्दा प्रतियोगिताको नाम इटहरी गोल्डकप नै थियो । त्यसपछिको २ संस्करण प्रतियोगितामा मदन भण्डारी फाउन्डेसन जोडिएपछि मदन भण्डारी इटहरी गोल्डकपको नाममा संचालन भयो । इटहरीका बासिन्दा समेत रहेका तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टको प्रस्तावमा प्रतियोगितालाई मदन भण्डारीको रुपमा रुपान्तरण गरिएको आयोजक समितिका अनुरोध थापा बताउँछन् ।
‘तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टबाट इटहरी गोल्डकपलाई मदन भण्डारी इटहरी गोल्डकप गरौ भन्ने प्रस्ताव आएपछि स्विकार गरेर प्रतियोगितालाई रुपान्तरण गरिएको हो,’ थापाले भने ।
इटहरीले फुटबल प्रतियोगिता आयोजना मात्र नभई खेलाडी उत्पादनलाई समेत संगै लिएर जाने उनले बताए । ‘यहाँ कुनै प्रतियोगिताका गर्नुपर्दा आयोजकले खेलाडी किनेर ल्याउनुपर्ने अवस्थामा छ । तर हाम्रो लक्ष्य प्रतियोगिता मात्र गर्ने हैन ट्रेनिङ सेन्टर बनाएर स्थानीय स्तरमा नै खेलाडी उत्पादन गर्ने लक्ष्य छ । ’
वर्षेनी इटहरी गोल्डकप परिस्कृत बन्दै गएको छ । २०७३ सालमा राष्ट्रिय जागृतिले ११ औं संस्करण तत्कालिन जनता प्राविको खेल मैदानमा संचालन गरेको थियो । सात वटा नेपाल र भारतको कञ्चनजंघा एफसीलाई समेटेर प्रतियोगिता आयोजना गरिएको थियो । २ लाख र १ लाख राशी राखिएको प्रतियोगितामा मदन भण्डारी फाउन्डेसन जोडिएपछि आयोजकहरु पुरस्कारमा समेत ६ गुणाले नै वृद्धि गर्दै विजेतालाई १२ लाख दिन सफल भए । अर्को तर्फ प्रतियोगिता आयोजनास्थल जनता प्राविबाट इटहरी रंगशालामा सर्यो ।

ए डिभिजनका शीर्ष क्लबहरुले समेत इटहरीमा इन्ट्री पाए । पहिलो संस्करण थ्रीस्टार र दोश्रो संस्करण विभागीय टोली त्रिभुवन आर्मीले जित्न सफल भए । त्यसपछि कोभिड संक्रमण सुरु हुँदा इटहरीको फुटबल सुस्ताएको थियो । मदन भण्डारी फाउन्डेसनसंगको सहकार्य अन्त्य भएपछि इटहरीबासीले पुरानै इटहरी गोल्डकपलाई व्युताए । १२ औं संस्करणको रुपमा गत वर्ष आयोजना सम्पन्न भयो ।
१२ औं संस्करणको गोल्डकपले नयाँ च्याम्पियन पाउन सफल रहयो । इटहरीको छिमेकी पालिका सुन्दर हरैचाको क्लब सगरमाथाले ए डिभिजनको जाइन्ट विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि उचाल्यो । सगरमाथा १३ औं संस्करणमा समेत फाइनल पुगेको छ ।
भव्य रंगशाला र स्तरिय प्यारापिट
आयोजक उत्साहित हुनुको अर्को मुख्य कारण पक्की प्याराफिट सहितको मैदान समेत हो । यसअघि २०७५ सालमा सम्पन्न दोश्रो संस्करणको मदन भण्डारी इटहरी गोल्डकपमा मैदानको केही भागमा बासको प्यारापिट देख्न सकिन्थ्यो । तर इटहरी खेलमैदान सुविधासम्पन्न रंगशाला बनेपछि दर्शकहरुलाई थप सुविधा दिन सहज हुने अपेक्षा आयोजकको छ ।
‘अब क्षेत्रीय रंगशालाको परिचय पाएको यस ठाउँमा ठुलाठुला प्रतियोगिता संचालन गर्दा दर्शक कहाँ राख्ने भन्ने दुविधा टरेको छ । ’ थापाले भने ‘ प्यारापिटमा करिब ८ हजार दर्शक अट्न सक्नेछन् भने यसको पछाडीतर्फको भागमा खेलाडीका लागि चेन्जिङ रुम, भिआइपी लाउन्च, पोस्ट म्याच कन्फ्रेरेन्स ,सुविधा सम्पन्न शौचालयहरु लगायतका वातावरण अनुकुलित कोठाहरु रहेका छन् ।’

इटहरी रंगशालामा यसअघि सिमेन्टको प्यारापिट भएपनि खेलमैत्री नहुँदा दर्शकहरुले सोचे अनुरुपको मनोरञ्जन लिन पाएका थिएनन् । अर्को तर्फ बाँसको प्यापिटमा दुर्घटनाको जोखिम समेत थियो । अब भने सहज रुपमा ८ हजारको संख्यामा दर्शकहरुले सुविधासम्पन्न प्यारापिटमा बसेर खेलको मज्जा लिन पाउनेछन् ।
अत्याधुनिक प्यारापिटले दर्शक संख्यामा मात्र नभई रंगशालाको सुन्दरतालाई समेत थप उजागर गर्ने आयोजक समेत रहेका जिल्ला फुटबल संघका पूर्वअध्यक्ष केशव कार्की बताउँछन् ।
‘बाँसको प्यारापिटमा प्रतियोगिता गर्दै आएका थियौ । अव सबै दर्शकहरुले भिआइपी कुर्सीमा बसेर खेलको मनोरञ्जन लिन सक्छौ । प्रतियोगिताका लागि खेलाडीहरुको सुविधामा कुनै कम्प्रमाइज गर्दैनौ । यसअघि इटहरीले बनाएको फुटबलको इमेजलाई यथावत राख्न हरसम्भव प्रयास छ,’ कार्कीले भने ‘ इटहरीलाई फुटबलको अब्बल गन्तव्यको रुपमा चिनिन्छ त्यसलाई कायम राख्ने प्रयत्न इटहरी गोल्डकप हो ।’
