रुपन्देही । ३४ औं संस्करणको झरना कप फुटबल प्रतियोगिताको उपाधि छिमेकी क्लब जनज्योति युवा क्लबले जितेको छ ।
रुपन्देहीको कुञ्जलापुरस्थित उमा आधारभुत बिद्यालयको खेल मैदानमा शनिबार राति सम्पन्न फाइनलमा जनज्योतिले छिमेकी टिम भू पु सैनिक जोवाई स्पोर्टिङ्ग क्लब सालघारीलाई पराजित गर्दै उपाधि जितेको हो ।
कोरोना महामारीले प्रभावित बनेको यस क्षेत्रकै सबैभन्दा ठुलो धन राशीको फुटबल प्रतियोगितामा १६ टिम सहभागी थिए ।
दुई बिदेशी खेलाडी सहित जोवाई स्पोर्टिङ्ग क्लब मैदान उत्रिएको थियो । निर्धारित समयको खेल बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।
प्रतियोगिताको विजेताले ३ लाख ११ हजार रुपैयाँ प्राप्त गरेको थियो भने उपविजेताले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेको थियो । सेमीफाइनलमा पराजित हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट डिफेन्स जनज्योति क्लबका सुमन अर्याल, बेस्ट प्लेयर जनाज्योतिकै एलन थापा, सर्वाधिक गोलकर्ता बाणगंगा क्लब कपिलबस्तुका अरुण थारू, बेस्ट गोल किपर भूपू सैनिक जबैइका जनक श्रेष्ठ चुनिएका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय उपाध्यक्ष दिर्घबहादुर केसी (कुमार)को प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा विजेता टिम र खेलाडीलाई उपाधि सहित ट्रफी, मेडल प्रदान गरिएको थियो ।
क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाले आगामी दिनमा अझ राम्रो तयारीका साथ रोचक प्रतियोगिता गर्ने प्रतिबद्धता जनाएका थिए ।
एन्फा उपाध्यक्ष केसीले ग्रासरुट सहितको फुटबल विकासका लागि यस्ता प्रतियोगिताहरु आवश्यक हुने बताए । उनले झरना कप जस्तो पुरानो प्रतियोगिताले यस क्षेत्रको फुटबललाई राष्ट्रिय स्तरमा चिनाउन मदत गरेको बताए ।