मकवानपुर गोल्डकपको तयारी पूरा

काठमाडौं । स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिताको तयारी पूरा भएको छ ।
बुधवार आयोजक मकवानपुर फुटबल संघले हेटौंडामा पत्रकार सम्मेलन गर्दै बिहीबार सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा बागमती युथ क्लब र नव जनजागुती युथ क्लब सिमरा भिडने भएका छ । यस खेलको विजेताले क्वाटरफाइनलमा आयोजक टोली विजय युथ क्लब हेटौडासँग खेल्नेछ । जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् ।
हेटौडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, नव जनजागुती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहने आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख
रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ ।
अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा मकवानपुर टिम उपविजेता बनेको थियो ।












